एउटा पत्रकारको राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन हुने एउटा समाचारको पछाडि कहिलेकाहीँ तीन दिनको पैदल यात्रा लुकेको हुन्थ्यो। पाठकले समाचार पढ्दा त्यसको पछाडि मैले कति खोला तरेँ, कति भीर चढेँ वा कति रात अपरिचित गाउँमा बिताएँ भन्ने थाहा पाउँदैनथे।
पत्रकारिताको एउटा सुन्दर पक्ष पनि यही हो— समाचारमा पत्रकारको संघर्ष देखिनु पर्दैन, त्यहाँ सत्य देखिनुपर्छ।
मुगुमा साँझको आफ्नै गति छ। घाम अस्ताउन थालेपछि उज्यालो एकाएक खुम्चिन्छ। बस्तीका छानामाथि केहीबेर सुनौलो प्रकाश टिकिरहन्छ, त्यसपछि भीरहरू क्रमशः कालो हुँदै जान्छन्। हिमाली हावाले चिसो बोकेर गाउँ पस्छ। मानिसहरू दिनभरको काम सकेर घर फर्किन्छन्। कतै गोठालोबाट फर्किएका पशुहरू बाँधिन्छन्, कतै चुलोमा आगो बल्छ, कतै बालबालिकाको आवाज बिस्तारै घरभित्र हराउँछ।
रात पर्नुअघि नै गाउँ एउटा गहिरो मौनतामा डुब्न थाल्छ। तर यही मौनताभित्र कुनै समय मेरो काँधमा झुन्डिएको झोलाभित्र कागजका केही पाना हुन्थे।
ती पानामा मुगुको कथा लेखिएको हुन्थ्यो— कुनै गाउँमा सकिएको खाद्यान्नको कथा, समयमा उपचार नपाएर मृत्युको मुखमा पुग्दै गरेकी गर्भवती महिलाको पीडा, भवनको अभावमा खुला चउरमा पढ्दै गरेका विद्यार्थी र शिक्षकको कथा, एउटा गाग्रीमा पानी खोज्दै भौंतारिरहेको पुरूषको कथा, बत्तीबिनाको धिपधिपे दियालोको उज्यालोमा पढ्दै गरेका विद्यार्थीको पीडा, सडक नजोडिएको बस्तीका मानिसका दुःख र औषधि खोज्दै जिल्ला सदरमुकाम धाउँदै गरेको बिरामीको पीडा।
यी सबै राज्यको नक्सामा त रहेका, तर राज्यको अनुभूतिबाट धेरै टाढा परेको एउटा दुर्गम गाउँका कथा थिए।
ती समाचार तत्काल मोबाइल वा इमेलबाट पठाउन सकिँदैनथे। एउटा बटन थिचेर सम्पादकको कम्प्युटरसम्म पुर्याउने सुविधा थिएन। इन्टरनेट थिएन, इमेलको पहुँच थिएन। हातले समाचार तयार हुन्थ्यो, कागजमा लेखिन्थ्यो, खाममा राखिन्थ्यो र गमगढी हुँदै हुलाकको बाटो काठमाडौं पठाइन्थ्यो।
त्यसपछि पनि मेरो काम सकिँदैनथ्यो। बरू अर्को किसिमको प्रतीक्षा सुरू हुन्थ्यो— समाचार पुग्यो कि पुगेन? सम्पादकले पाए कि पाएनन्? छापियो कि छापिएन?
कहिलेकाहीँ घटनाभन्दा समाचारको यात्रा नै लामो हुन्थ्यो। तर ती कागजमा लेखिएका शब्द केवल समाचार थिएनन्। ती नेपालको एउटा यस्तो भूगोलको आवाज थिए, जहाँ सूचना पुग्नुभन्दा पहिले अभाव पुग्थ्यो; जहाँ राज्यको योजना कागजमा पहिले आउँथ्यो र नागरिकको जीवनमा धेरैपछि; जहाँ प्राकृतिक सौन्दर्यको चर्चा देशभर हुन्थ्यो, तर त्यही सौन्दर्यको काखमा बस्ने मानिसहरूको अभाव राष्ट्रिय बहस बन्न कठिन थियो।
हुलाकमार्फत समाचार पठाउने मेरो भोगाइ कुनै पुरानो पत्रकारिता इतिहासको प्रसंगजस्तो लाग्न सक्छ। तर मेरा लागि त्यो इतिहास मात्र होइन, एउटा यस्तो समय पनि हो, जसमा पत्रकारिता केवल पेसा थिएन; दुर्गम भूगोल र राष्ट्रिय सञ्चारबीचको पुल थियो।
म आज आफ्नै डिजिटल अनलाइनमा रमाइरहेको छु। द्वन्द्वकालमा अस्थायी शिक्षक पेसा र अन्य दुर्गमका अवसर छाडेर पत्रकारिता पेसा रोज्नु मेरा लागि जोखिमको यात्रा थियो।
प्रविधि बदलिँदैमा यात्राको अर्थ बदलिँदैन। मेरो यात्रा मूलतः एउटा पत्रकारको व्यक्तिगत यात्रा मात्र होइन; यो मुगुको एउटा समयको यात्रा पनि हो। सूचना अभावको युगदेखि डिजिटल सञ्चारको युगसम्म, पैदल हिँडेर समाचार खोज्ने समयदेखि मोबाइलबाट समाचार सम्प्रेषण गर्ने समयसम्म, खाद्यान्नको लाइन, मातृमृत्यु, सडकको प्रतीक्षा र द्वन्द्वको त्रासदेखि राराको पर्यटन, पर्यावरण र डिजिटल पत्रकारितासम्मको यात्रा।
मुगु भन्नेबित्तिकै धेरैको आँखामा रारा आउँछ— नीलो पानीको विशाल विस्तार, वरिपरि उभिएका हरिया र पहेँलिँदै गरेका पहाड, जंगलभित्र बदलिइरहने मौसम र बादल तथा घामसँगै पानीको सतहमा फेरिइरहने रङहरू। नेपाललाई प्राकृतिक सौन्दर्यको एउटा तस्वीरमा सीमित गर्नुपरे रारा पर्याप्त हुन्छ। रारा नेपालको पर्यटन कल्पनाको एउटा सुन्दर प्रतीक हो।
तर मुगु रारा मात्रै होइन। राराको तस्वीरभन्दा धेरै पर, भीरका काखमा फैलिएका गाउँहरूमा अर्को मुगु छ, जहाँ नागरिकको जीवन प्रकृतिको सौन्दर्यभन्दा धेरै दैनिक संघर्षसँग जोडिएको छ। जहाँ खाद्यान्न डिपोमा चामलका लागि लाइन लाग्छ, सामान्य बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन घण्टौं वा दिनौं हिँड्नुपर्छ।
गर्भवती महिलाको जीवन मौसम, बाटो र स्वास्थ्य सेवाको उपलब्धतासँग जोडिएको हुन्छ। जहाँ विद्यालयको भवन हुन्छ तर शिक्षक पर्याप्त हुँदैनन्, सडकको घोषणा हुन्छ, बजेट विनियोजन हुन्छ, शिलान्यास हुन्छ, तर गाउँसम्म पुग्ने बाटो वर्षौंसम्म पूरा हुँदैन।
एउटा मुगु संसारले तस्वीरमा देख्छ, अर्को मुगु त्यहाँका मानिसले दैनिक जीवनमा भोग्छ। मेरो पत्रकारिता यिनै दुई मुगुबीचको दुरीलाई शब्दमा बदल्ने प्रयत्न हो। मैले राराको नीलो पानी पनि देखाएँ र खाद्यान्नको लाइन पनि। हिमालको सुन्दरता पनि लेखेँ र हिमालमुनिको अभाव पनि। पर्यटनको सम्भावना पनि देखाएँ र राज्यको अनुपस्थितिमाथि प्रश्न पनि उठाएँ।
म मुगुको सोरू गाउँपालिका–५, फोतुमा जन्मेँ। आज पनि दुर्गम मानिने यही भूगोलमा मेरो बाल्यकाल आधुनिक सञ्चारको पहुँचभन्दा धेरै टाढा बित्यो। गाउँमा मोबाइल थिएन, इन्टरनेट थिएन, पत्रपत्रिका नियमित रूपमा पुग्दैनथे। रेडियोको आवाज पनि कहिलेकाहीँ राम्रो सिग्नल खोजेर मात्र सुन्न सकिन्थ्यो। सूचना पाउनु आफैँमा एउटा सुविधा थियो।
आजको पुस्ताले संसारलाई हातमा समातेको मोबाइलभित्र राखेको छ। कुनै घटना भए केही सेकेन्डमै भिडिओ हेर्न सकिन्छ, विश्वको अर्को कुनामा भएको राजनीतिक परिवर्तनबारे पनि तत्काल जानकारी पाइन्छ।
म हुर्किएको समयमा राजधानीमा भएको घटना गाउँसम्म आइपुग्दा त्यो समाचारभन्दा पुरानो खबर भइसकेको हुन सक्थ्यो।
सूचना अभावको संसारमा पनि प्रश्नहरू थिए— गाउँमा यति धेरै समस्या किन छन्? राज्य किन यहाँसम्म आइपुगेको छैन? मानिसले यति धेरै दुःख किन भोग्नुपर्छ?
दुर्गम गाउँमा जन्मिनु मेरो रोजाइ थिएन, तर त्यही गाउँ, त्यही जिल्ला र त्यही भूगोलको कथा संसारले बुझोस् भन्ने चाहना मेरो निर्णय बन्यो। मैले उच्च शिक्षा हासिल गरेँ, संघर्ष गरेँ र अन्ततः पत्रकारिताको बाटो रोजेँ।
२०५८ सालको दशकको उत्तरार्द्धतिर खोजमूलक पत्रकारितामार्फत सञ्चार क्षेत्रमा प्रवेश गरेँ। त्यो बेला पत्रकार बन्नु भनेको समाचार लेख्न जान्नु मात्र थिएन।
समाचारसम्म पुग्ने बाटो पनि आफै बनाउनुपर्थ्यो। स्रोत खोज्नुपर्थ्यो, घटनास्थल पुग्नुपर्थ्यो, सूचना प्रमाणित गर्नुपर्थ्यो। सबैभन्दा कठिन कुरा, त्यो समाचार राष्ट्रिय सञ्चार माध्यमसम्म पुर्याउने माध्यम पनि आफैँ खोज्नुपर्थ्यो।
दुर्गम गाउँबाट जिल्ला सदरमुकाम गमगढी पुग्नु जीवनको अर्को महत्वपूर्ण अध्याय बन्यो। गमगढी त्यति बेला मुगुको प्रशासनिक केन्द्र थियो। जिल्लाभित्रका सूचना बाहिरी संसारसम्म पुग्ने एउटा केन्द्र पनि थियो। त्यहाँ सरकारी कार्यालयहरू थिए, राजनीतिक गतिविधि हुन्थे, पत्रकारहरू भेटिन्थे, सञ्चारकर्मीबीच बहस हुन्थ्यो र राष्ट्रिय सञ्चार माध्यमसँग सम्पर्क गर्ने सम्भावना पनि त्यहीँबाट खुल्थ्यो।
त्यही वातावरणमा मेरो पत्रकारिता बिस्तारै आकार लिन थाल्यो। सुमन मल्ल, विनोदकुमार मल्ल, नृपेन्द्रबहादुर मल्ल र जीवन सेजुवालजस्ता पत्रकार तथा सञ्चारकर्मीहरू मेरो पत्रकारिता यात्राका महत्वपूर्ण सहयात्री बने। पछि कविराज कार्की र अच्यूत भण्डारी नन्द रावल पनि सहयात्रीमा जोडिन पुगे।
पत्रकारिता कसरी गर्ने भन्ने पाठ सधैं विश्वविद्यालयको कक्षाकोठामा सिकिँदैन। कतिपय पाठ सहकर्मीले सिकाउँछन्, कतिपय गल्तीले, कतिपय आलोचनाले, कतिपय जोखिमले र कतिपय त्यस्ता परिस्थितिले, जहाँ सही निर्णय गर्नका लागि कुनै पाठ्यपुस्तक हुँदैन।
मैले पत्रकारिता विषय पढेको थिइनँ, न पर्याप्त तालिम लिएको थिएँ। मसँग हिम्मत र आँट भने थियो।
सेतो फोटोकपी पेपरमा जानीनजानी २०५९ असारबाट समाचार लेख्न सुरू गरेँ। कान्तिपुर दैनिकमा जोडिएपछि त्यहीँबाट ऋणसापटी लिएर ल्यापटप किनेर समाचार शैली सुधार गर्न कोसिस गर्दै थिएँ। गाउँबाट गमगढी सदरमुकाम आएको मलाई बस्नखान सहज थिएन। एउटा अँध्यारो कोठाभित्र बसेर पत्रकारिता अघि बढाउन प्रयास गरिरहेको थिएँ।
गमगढीका समाजसेवी तथा राजनीतिज्ञ पदमबहादुर रावलसँगको चिनाजानले मेरो जीवन यात्रामा पुर्याएको सहयोगलाई पनि म महत्वपूर्ण ठान्छु। दुर्गम गाउँबाट आएको एक युवालाई सामाजिक रूपमा स्थापित हुन, आत्मविश्वासका साथ अघि बढ्न र जीवनका जटिल मोड पार गर्न कसैले दिएको साथ कहिलेकाहीँ पेसागत यात्राको अदृश्य आधार बन्न सक्छ।
तर, अन्ततः बाटो आफै हिँड्नुपर्छ। मैले पनि आफ्नो बाटो आफै बनाएँ।
आजको पत्रकारितामा एउटा 'सेन्ड' बटनले संसार बदलिदिएको छ। पत्रकार र पाठकबीचको दुरी प्रविधिले लगभग समाप्त गरिदिएको छ।
मैले पत्रकारिता सुरू गर्दा त हुलाक मात्र थियो।
राष्ट्रिय दैनिक कान्तिपुरका लागि मुगुबाट लामो समय आवासीय संवाददाताका रूपमा काम गरेँ मैले। समाचार तयार हुन्थ्यो, कागजमा लेखिन्थ्यो, खाममा राखिन्थ्यो र हुलाक कार्यालयमा बुझाइन्थ्यो। त्यसपछि पत्रकारले आफ्नो काम सकेर होइन, प्रतीक्षाको अर्को चरण सुरू गरेर फर्किनुपर्थ्यो।
कहिलेकाहीँ समाचार ढिलो पुगेकोमा गाली पनि खानुपर्थ्यो। तर मुगुमा बसेको पत्रकारसँग विकल्प के थियो? समाचार नलेख्ने वा लेखेर पनि नपठाउने?
मैले दोस्रो विकल्प कहिल्यै रोजिनँ। जसरी भए पनि समाचार पठाएँ। किनकि पत्रकारिताको पहिलो सर्त सुविधा होइन, प्रतिबद्धता हो।
मेरो पत्रकारिता सुविधा सम्पन्न कार्यालयमा थिएन। पैदल यात्रामा थियो। मुगुम कार्मारोङ पुग्नुपर्दा दिनौं हिँड्नुपर्थ्यो, खत्याडका गाउँहरू पुग्न अप्ठ्यारा बाटो पार गर्नुपर्थ्यो। कतै भीर, कतै खोला, कतै हिउँ, कतै भोक र कतै मौसमसँग संघर्ष गर्नुपर्थ्यो। समाचारको एउटा सूचना तथ्यमा बदल्न शरीरलाई नै यातायातको माध्यम बनाउनुपर्थ्यो।
राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन हुने एउटा समाचारको पछाडि कहिलेकाहीँ तीन दिनको पैदल यात्रा लुकेको हुन्थ्यो।
मुगुको खाद्यान्न अभाव नेपालको विकास इतिहासको एउटा पीडादायी अध्याय हो। प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा समृद्ध जिल्ला भए पनि वर्षौंसम्म खाद्यान्न अभाव मुगुको परिचयसँग जोडिँदै आयो। खाद्यान्न डिपो अगाडि चामलका लागि उभिएका मानिसहरूको लामो लाइन स्थानीय दृश्य मात्र थिएन; त्यो राज्यको खाद्य नीति, वितरण प्रणाली र विकासको असमानतामाथिको प्रश्न थियो।
लाइनमा उभिएको मानिसका लागि त्यो चामलको बोरा थियो, तर पत्रकारका लागि त्यो राज्यसँग सोध्नुपर्ने प्रश्न थियो। कसैको घरमा अन्न सकिएको हुन्छ, कसैले ऋण लिएर परिवार चलाइरहेको हुन्छ, कसैको जीवन सरकारी आपूर्तिमा निर्भर हुन्छ।
बाहिरबाट हेर्दा त्यो एउटा लाइन मात्र देखिन्छ, तर पत्रकारिताको आँखाले हेर्दा त्यो एउटा जिल्लाको भोक र देशको नीतिबीचको सम्बन्ध थियो। मैले यस्ता दृश्यलाई राष्ट्रिय सञ्चार माध्यमसम्म पुर्याएँ।
मेरा समाचारले प्रश्न उठाए— नेपालजस्तो देशमा कुनै नागरिकलाई खाद्यान्नका लागि यति लामो प्रतीक्षा किन गर्नुपर्छ? भोक केवल प्रकृतिको परिणाम हो कि राजनीतिक, प्रशासनिक र नीतिगत असफलताको पनि परिणाम हो?
स्वास्थ्य सेवाको अभावबारे मेरा समाचारहरू पनि यस्तै प्रश्नहरूले भरिएका थिए।
समाचारमा कहिलेकाहीँ एउटा वाक्य हुन्छ—'उपचार नपाएर मृत्यु, नुन नपाए अलिनो खाना, खाद्य नपाए भोकै, रगत नपाएर अस्पतालमा बिरामी छटपटिँदै आदि इत्यादि।
तर, त्यो एउटा वाक्यभित्र एउटा संसार समाप्त भएको हुन्छ। एउटा परिवारको भविष्य बदलिएको हुन्छ, बालबालिका आमाविहीन भएका हुन्छन्, एउटा घर शोकमा डुबेको हुन्छ र एउटा समुदायले राज्यको कमजोरीलाई फेरि एक पटक आफ्नै जीवनमा भोगेको हुन्छ।
मुगुमा स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउनुपरेका नागरिकका कथाले मलाई बारम्बार पत्रकारिताको मूल प्रश्नतर्फ फर्कायो— राज्य नागरिकका लागि कहाँ छ?
दरबन्दी अनुसार चिकित्सक नहुने, स्वास्थ्य संस्था कमजोर हुने, औषधि र उपकरणको अभाव रहने, गम्भीर बिरामीलाई जिल्लाबाहिर लैजानुपर्ने र गर्भवती महिलाले समयमा उपचार नपाउनेजस्ता विषयलाई मैले मुख्य समाचार बनाएँ, सम्प्रेषण गरेँ।
तर पत्रकारिताको जिम्मेवारी केवल मृत्युको तथ्यांक लेख्नु होइन, त्यसको पछाडि रहेको कारण खोज्नु पनि हो।
किन यस्तो भयो? कसको जिम्मेवारी हो? राज्य कहाँ चुक्यो? एउटा नागरिकले आफ्नो जीवन बचाउन पाउनुपर्ने सामान्य अधिकार किन दुर्गम भूगोलमा पुग्दा कमजोर हुन्छ? मेरो पत्रकारिता यस्तै प्रश्नहरूसँग निरन्तर जोडिएको छ।
त्यस्तै कर्णालीमा विकासको एउटा पुरानो भाषा छ— बजेट विनियोजन, शिलान्यास, ठेक्का, निर्माण र उद्घाटन। कागजमा विकासको यात्रा प्रायः यिनै शब्दहरूबाट सुरू हुन्छ। तर, कागज र वास्तविकताबीचको दुरी धेरै ठाउँमा लामो हुन्छ। बीचमा आउँछ ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अधुरा आयोजना र प्रतीक्षामा बसेका नागरिक।
मैले कर्णाली राजमार्गदेखि ग्रामीण सडक निर्माणसम्मका विषयमा निरन्तर कलम चलाएँ। सार्वजनिक बजेट कहाँ खर्च भइरहेको छ? निर्माण किन समयमा सकिँदैन? ठेकेदार किन जिम्मेवार हुँदैन? नागरिकले एउटा सडकका लागि दशकौं किन पर्खिनुपर्छ?
यी प्रश्न उठाउनु सधैं सहज हुँदैन, विशेष गरी सानो जिल्लामा। जहाँ शक्तिशाली मानिसहरू तपाईंका चिनजानका हुन सक्छन्, जहाँ समाचार लेखेपछि भोलिपल्टै तिनै मानिससँग भेट हुन सक्छ, जहाँ पत्रकारमाथि दबाब सिर्जना गर्न सजिलो हुन्छ र जहाँ सामाजिक सम्बन्ध तथा सार्वजनिक जिम्मेवारीबीच सन्तुलन कायम राख्नु कठिन हुन्छ।
तर, पत्रकारिता यदि केवल सम्बन्ध जोगाउने काम मात्र बन्यो भने सार्वजनिक हितका प्रश्न कसले उठाउने? यही प्रश्नको उत्तर मेरो पत्रकारिताले निरन्तर खोजिरह्यो।
नेपालको सशस्त्र द्वन्द्वकाल पत्रकारहरूका लागि सामान्य समय थिएन, विशेष गरी कर्णालीजस्तो दुर्गम क्षेत्रमा। एकातिर राज्यको उपस्थिति थियो, अर्कोतिर विद्रोही पक्षको प्रभाव। बीचमा नागरिक थिए र नागरिकको कथा लेख्ने पत्रकार।
मेरा लागि त्यो पत्रकारिता जीवनको सबैभन्दा चुनौतीपूर्ण समयमध्ये एक थियो। एउटा समाचारले राज्यपक्षलाई असन्तुष्ट बनाउन सक्थ्यो, अर्को समाचारले विद्रोहीलाई। निष्पक्ष रहनु आफैमा जोखिम थियो।
पत्रकारको समस्या के थियो भने उसले कुनै एक पक्षको मात्र कथा लेख्न सक्दैनथ्यो। नागरिकको जीवनमा परेको प्रभाव देखाउनुपर्थ्यो, राज्यको गतिविधि पनि लेख्नुपर्थ्यो र विद्रोहको प्रभाव पनि। तर, प्रत्येक समाचारलाई कसैले न कसैले आफ्नो पक्ष वा विपक्षको रूपमा हेर्न सक्थ्यो।
दुवै पक्षको दबाब र शंकाबीच पत्रकारिताको धर्म जोगाउनु सजिलो थिएन। तर, मैले त्यसैबीच नागरिकका कथा लेखिरहेँ। पत्रकारिताको सबैभन्दा कठिन कुरा समाचार लेख्नु मात्र होइन; कहिलेकाहीँ समाचार लेखिसकेपछि त्यसको परिणामसँग बाँच्नु पनि हो।
द्वन्द्वको समय पार भयो, देश बदलियो, राजनीतिक व्यवस्था बदलियो, सञ्चारको प्रविधि बदलियो। तर मेरो पत्रकारिताको केन्द्रमा रहेको भूगोल भने उही रह्यो—मुगु र कर्णाली।
मेरो पत्रकारिता यात्रामा राराको विशेष स्थान छ। मैले रारालाई लेखेँ, खिचेँ, सम्झिएँ र राष्ट्रिय सञ्चार माध्यममार्फत अरूलाई देखाएँ। रारामाथि बढ्दै गएका चुनौतीबारे पनि कलम चलाएँ। रारा पर्यटकका लागि सुन्दर तस्वीर हो, तर स्थानीय पत्रकारका लागि त्यो भविष्यको प्रश्न पनि हो। यदि रारा जोगिएन भने प्रचारको अर्थ के रहन्छ?
नेपालको पत्रकारिता लामो समयसम्म काठमाडौं केन्द्रित रह्यो। मोफसलका पत्रकारहरूले समाचार पठाउँथे र काठमाडौंका न्युजरूमले त्यसलाई राष्ट्रिय समाचारको रूप दिन्थे। तर मोफसलमा पत्रकारिता गर्नु समाचार पठाउने काम मात्र होइन, आफ्नै ठाउँमा पत्रकारिताको वातावरण निर्माण गर्नु पनि हो।
म नेपाल पत्रकार महासंघ मुगु शाखाको स्थापना र विकाससँग जोडिएँ, स्थानीय सञ्चार माध्यमको विस्तारमा भूमिका खेलेँ र रेडियो तथा अनलाइन पत्रकारिताको विकाससँगै नयाँ पुस्तालाई मार्गदर्शन गरेँ।
काम गर्दागर्दै एक दिन सिंहदरबार छिर्ने अवसर मिल्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला ऐनबहादुर शाही ठकुरी संघीय वन तथा वातावरण मन्त्री बनेपछि मैले करिब १४ महिना मन्त्रीको प्रेस सहयोगीका रूपमा काम गरेँ।
मन्त्रीका गतिविधि, नीति तथा कार्यक्रम सञ्चार माध्यमसम्म पुर्याउने काममा मेरो भूमिका रह्यो। त्यो कामको अनुभवले मलाई शक्ति र प्रशासनको केन्द्रलाई नजिकबाट बुझ्ने अवसर दियो।
यसपछि फेरि पत्रकारितामै फर्किएँ।
मैले राष्ट्रिय दैनिक कान्तिपुरसँग लामो समय आवासीय संवाददाताका रूपमा काम गरेँ।
पत्रकारिताको संसार परिवर्तन हुँदै गयो। छापाखानाको युगसँगै डिजिटल संसार तीव्र गतिमा विस्तार भयो। समाचार पढ्ने तरिका बदलियो, पत्रकारिताको अर्थतन्त्र बदलियो र सामाजिक सञ्जालले सूचना उत्पादन तथा वितरणको परम्परागत संरचना नै बदलिदियो। पत्रकारले पनि आफूलाई नयाँ समयसँग अनुकूल बनाउनुपर्ने भयो। मैले पनि यही गरेँ।
कान्तिपुर दैनिकबाट बाहिरिएपछि मैले आफ्नै अनलाइन सञ्चारमाध्यम 'क्याराभान खबर' सञ्चालनमा ल्याएँ।
दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताइसके पनि म अझै खोजिरहेको छु, अझै लेखिरहेको छु, अझै प्रश्न गरिरहेको छु र अझै मुगुको अर्को कथा खोजिरहेको छु।
परिवर्तनसँगै चुनौती पनि आएका छन्। सूचनाको गति बढेको छ, तर सत्यको खोजी कमजोर हुन सक्ने खतरा पनि बढेको छ। समाचार धेरै छन्, तर गहिरो रिपोर्टिङ कम हुन सक्छ। सबैसँग बोल्ने माध्यम छ, तर सबैको आवाज समान रूपमा सुनिँदैन।
यही बदलिँदो पत्रकारिताको समयमा म अझै आफ्नो मूल पत्रकारिताको अभ्यासमा छु— घटनास्थल पुग्ने, तथ्य खोज्ने र नागरिकको आवाज लेख्ने।
पत्रकारको यात्रा कुनै पदमा पुगेर समाप्त हुँदैन, कुनै पुरस्कार पाएर समाप्त हुँदैन, कुनै सञ्चारमाध्यम छाडेर समाप्त हुँदैन। समाजमा प्रश्न बाँकी हुन्छन्, पत्रकारिताको यात्रा पनि बाँकी रहन्छ।
मुगुमा अझै धेरै कथा छन्। ती कथाहरू लेखिन बाँकी छन्। रारा अझै बदलिँदै छ। हिमालको मौसम बदलिँदै छ। गाउँको जीवन बदलिँदै छ। राज्यसँग नागरिकका अपेक्षा बदलिँदै छन्। यी सबै परिवर्तनको बीचमा म अझै आफ्नो भूगोललाई हेरिरहेको छु, सुन्दैछु, खोज्दैछु र लेख्दैछु।
दुःख बढी भोगेँ, सुख कम भोग्दैछु। यो क्षेत्रमा लागेपछि मैले पुरस्कार, मान–सम्मान धेरै पाएँ, यही मेरो लागि आत्मसन्तुष्टिको सम्पत्ति हो।
हुलाकबाट सुरू भएको त्यो खबरको यात्रा अहिले डिजिटल संसारमा पुगेको छ। तर त्यसको आत्मा उही छ—मुगुको आवाज देशसम्म पुर्याउने।