हरेक सभ्यताले आफूलाई दुई तरिकाले चिनाउँछ।
पहिलो, उसले आफ्नो शक्ति कसरी प्रयोग गर्छ भन्नेबाट।
दोस्रो, उसले आफ्ना सभ्यताका सबैभन्दा कमजोर मानिसहरूलाई कसरी बुझ्छ भन्नेबाट।
पहिलो कुरा अकसर इतिहासमा लेखिन्छ र दोस्रो कुरा साहित्यले गहिरोसँग लेखिदिएको हुन्छ। त्यसलाई पढ्नुपर्छ।
हामी प्रायः राज्यलाई त्यसका नीति, कानुन, संस्था र निर्णयबाट मूल्यांकन गर्छौं। तर कुनै पनि समाजको वास्तविक नैतिक स्तर त्यति बेला देखिन्छ, जब एउटा साधारण नागरिक असाधारण पीडामा पर्छ।
किनभने त्यति बेला राज्यको कानुनी क्षमता मात्र होइन, उसको नैतिक कल्पनाशक्ति पनि परीक्षामा हुन्छ।
किन हामी मानवीय पीडालाई सबभन्दा पहिले कुनै न कुनै संरचनाभित्र राख्न हतारिन्छौं?
गणेश नेपालीको आत्मदाहपछि नेपालमा चलेको सार्वजनिक बहस, उनका पीडाभन्दा धेरै कानुन र मानसिक स्वास्थ्यका प्रश्नहरूबाट सुरू भइदियो।
र हतारिँदै, समाज केही व्याख्यामा सीमित हुन पुग्यो। असार २५ गते सरकारसँगको अन्तरक्रियाका क्रममा उनले आत्मदाह गरे। त्यसपछि उनको मृत्यु भयो। त्यसपछि समाज बोल्न थाल्यो। संसद पनि बोल्यो। अनि सरकार पनि। अनि फेरि बोले सामाजिक सञ्जालमा पक्ष र विपक्ष।
तर जति धेरै शब्दहरू थपिँदै गए, उति नै एउटा मानिस हराउँदै गयो। सायद हामीले गणेश नेपालीलाई बुझेनौं, बुझ्न खोजेनौं पनि। कसैले उनलाई कानुनको आँखाले हेरे। कसैले मानसिक स्वास्थ्यको आँखाले। कसैले राजनीतिका चस्माले। कसैले नैतिकताको तराजुमा जोखे। कसैले सरकारको असफलता देखे। कसैले व्यक्तिको दुर्भाग्य देखे। सबैले केही न केही देखे र लेखे पनि, तर मलाई भने निरन्तर एउटा कुराले असहज बनाइरह्यो।
यी सबै व्याख्याहरूको बीचमा 'गणेश नेपाली' भन्ने मानिस कहाँ थियो? र, यो गणेश नेपालीको घटनामा मात्र भएको होइन।
मानवीय पीडाप्रति हाम्रो सार्वजनिक प्रतिक्रियाको एउटा सामान्य ढाँचा नै यही हुँदै गइरहेको छ। मानिसको पीडाले हामीलाई असहज बनाउँछ। असहज प्रश्नसँग बाँच्न त्यति सजिलो पनि हुँदैन।
त्यसैले हामी व्याख्या गर्छौं।
कतिपय व्याख्याहरू सत्य खोज्नका लागि होइनन्, आफ्नै विवेकलाई शान्त पार्नका लागि हुन्छन्। गणेश नेपालीको घटनापछि उठेका हरेक भाष्यमा पनि हामीले हाम्रो विवेक शान्त पार्न बाहेक केही गरेनौं।
सार्वजनिक बहसहरूमा कानुनको चर्चा भयो। मानसिक स्वास्थ्यको चर्चा भयो। राजनीतिक उत्तरदायित्वको पनि चर्चा भयो। यी सबै आवश्यक प्रश्नहरू हुन्। लोकतन्त्र नियमबिननाको भीडतन्त्र हुन सक्दैन, र मानसिक स्वास्थ्यलाई सार्वजनिक नीतिको केन्द्रमा ल्याउनु आजको आवश्यकता पनि हो।
तर यी सबै प्रश्नहरूको बीचमा एउटा चौथो प्रश्न भने छुटिरहेको थियो।
त्यो प्रश्न थियो, के हाम्रो कुनै पनि निर्णयले यो मानिसको जीवनलाई साँच्चै समेट्छ, कि उसलाई त्यसभन्दा बाहिर छोडिदिन्छ?
भाष्यहरूको संसारमा धेरै प्रश्नहरूको कारोबार भइरहँदा एउटा भाषा भने हराउँदै गएको महसुस भयो।
त्यो भाषा, जसले सोध्थ्यो, 'तिमीलाई यस्तो किन भयो?'
सायद कुनै पनि समाज त्यतिबेलासम्म मात्र जीवित रहन्छ, जबसम्म उसले आफ्ना नागरिकलाई कानुन, नैतिकता वा राजनीतिक बहसभन्दा पहिले मानिसका रूपमा हेर्न सक्ने क्षमता जोगाइराख्छ। यही प्रश्नले मलाई बिपी कोइरालातिर फर्कायो। राजनीतिज्ञका रूपमा होइन, साहित्यकारका रूपमा। किनभने राजनीति प्रायः मानिसलाई वर्गीकरण गर्न बाध्य हुन्छ, तर साहित्यले उसलाई वर्गीकरणभन्दा अघि बुझ्न खोज्छ।
यी प्रश्नहरू गणेश नेपालीसँग मात्र सीमित छैनन्। यसअघि पनि हामीले सडक व्यापारीको प्रश्नलाई सहरको सौन्दर्यताको भाषामा बुझ्यौँ। सुकुम्बासीका कथाहरू हुकुम्बासीका अत्याचारको भाषामा पढ्यौँ। युवाको आत्मदाहलाई मानसिक स्वास्थ्यको प्रश्नमा सीमित गर्यौँ। हरेक पटक हाम्रो व्याख्या परिष्कृत हुँदै गयो।
तर प्रश्न के हो भने, समाजप्रतिको हाम्रो बुझाइ गहिरिँदै गयो कि गुम्दै गयो?
सायद आधुनिक शासनको सबैभन्दा ठूलो विडम्बना यही हो। राज्यसँग नागरिकको बारेमा पहिलेभन्दा धेरै सूचना छ। पहिलेभन्दा धेरै अभिलेख छन्। पहिलेभन्दा धेरै तथ्याङ्क छन्। पहिलेभन्दा धेरै प्राविधिक क्षमता पनि छ। तर के उसले पहिलेभन्दा धेरै मानिसलाई बुझ्छ?
त्यसैले आज, बिपी स्मृति दिवसका अवसरमा, मलाई एउटा प्रश्नले निरन्तर पछ्याइरहेको छ।
यदि बिपी कोइराला आज जीवित थिए भने, उनले गणेश नेपालीबारे पहिलो प्रश्न के सोध्थे?
बिपीको लोकतान्त्रिक दृष्टि बुझ्न उनका भाषणभन्दा पहिले उनका पात्रहरू पढ्नुपर्छ।
बिपीको साहित्य र उनको राजनीति अलग अलग संसार होइनन्, बरू परिपूरक हुन्। उनका उपन्यासहरू पढेपछि मात्रै उनका राजनीतिक दस्तावेजहरूको अर्थ पूरा खुल्छ।
उनले त लोकतन्त्रको सिद्धान्त लेख्नुभन्दा धेरै पहिले मानिसका मन लेखेका छन्। उनले राज्यको कल्पना गर्नुभन्दा धेरै पहिले नै समाजले अस्वीकार गरेका मानिसहरूको जीवन बुझ्ने प्रयास गरेका छन्। त्यसैले उनका पात्रहरू आज पनि राजनीतिक भाषणभन्दा धेरै सत्य बोल्छन्।
बिपीको सबभन्दा गहिरो अन्तर्दृष्टि के हो भने, कानुन, नैतिकता र समाज; यी तीनवटै सिद्धान्तले मानव जीवनलाई पूर्ण रूपमा समेट्न सक्दैनन्। यी तीनवटै आवश्यक छन्, तर पर्याप्त छैनन्।
यी सबैभन्दा माथि, एउटा अर्को तह छ— मानिसको अस्तित्वको तह। बिपीको सम्पूर्ण साहित्यले यही तहलाई खोज्छ, र यही खोजबाटै उनको राजनीतिक दर्शन जन्मिन्छ, विवेकपूर्ण राज्यको दर्शन। जुन राज्य कानुनले मात्र होइन, विवेकले पनि चल्छ। जुन राज्य नियमले मात्र होइन, मानिसलाई चिन्ने क्षमताले पनि चल्छ।
यो कुनै अमूर्त सिद्धान्त होइन। यो उनका कथाहरूमा पटक पटक देखिन्छ।
बिपीका पात्रहरूलाई नियाल्दा एउटा अनौठो कुरा देखिन्छ। उनका पात्रहरू समाजले दिएका परिचयबाट चिनिँदैनन्। उनीहरू 'असल' वा 'खराब' मानिस होइनन्। उनीहरू 'पापी' वा 'पुण्यात्मा' पनि होइनन्। उनीहरू कानुनका अभियुक्त वा नैतिकताका प्रतिमूर्ति पनि होइनन्।
त्यसैले बिपीका कथाहरू पढ्दा हामी पात्रलाई बदलिएको देख्दैनौं। बरू आफू बदलिएको अनुभव गर्छौं। हामी निर्णय गर्न बसेका हुन्छौं। बिपी हामीलाई बुझ्न बाध्य बनाइदिन्छन्। बिपीको साहित्यले एउटा कुरा निरन्तर सम्झाइरहन्छ। कुनै पनि मानिस आफ्नो सबैभन्दा खराब निर्णयभन्दा असाध्यै ठूलो हुन्छ।
यदि बिपी आज जीवित थिए भने, उनले पनि गणेश नेपालीलाई हामीले झैं कानुन, मानसिक स्वास्थ्य र राजनीतिक उत्तरदायित्वका प्रश्नमै सीमित गर्थे?
वा सायद उनले सोध्थे, 'यो मानिसले किन आफ्नो ज्यानलाई असह्य पीडा हुने गरी आत्मदाह गर्यो?'
यस प्रश्नको उत्तर खोज्दै मलाई 'श्वेत भैरव' कथासंग्रहको कथा 'राइटर बाजे' तिर फर्किन बाध्य बनायो।
राइटर बाजेमा बिपीले मथिंगल हल्लाउने गरी केही प्रश्न गरेका छन्।
उनको कथाको मुख्य पात्र भोटिनी एक स्वतन्त्र, साहसी र आफ्नो निर्णय आफै लिन सक्ने आधुनिक चेत भएकी महिला हुन्। यो कथाको केन्द्रमा तथाकथित 'सानो' जातकी स्त्री छ, जसकी सानी छोरीको अचानक मृत्युले विक्षिप्त भएकै बेला उनका बाहुन श्रीमान, राइटर बाजे, क्षयरोग (तत्कालीन समयको भयानक र निको पार्न गाह्रो हुने) रोगबाट ग्रसित हुन्छन्। घरखर्च र उपचारको कुनै उपाय नभएपछि, उनी पतिको प्राणरक्षाका लागि देह व्यापारको बाटो रोज्न बाध्य हुन्छिन्।
समाजले यस्ता महिलाहरूलाई व्यभिचारी भन्छ। अनैतिक र चरित्रहीन भन्छ। त्यस बेलामा पनि भन्थे, आज पनि भनिरहेका छन्। तर भोटिनीका लागि शरीर बेच्नु आफ्नो पतिको सास किन्ने एक मात्र माध्यम बन्न पुग्छ। उनले आफ्नो शरीर र सामाजिक प्रतिष्ठा दुवै दाउमा राखेर पैसाको जोहो गर्छिन्।
यो कथाको सार पढिसकेर सहानुभूति र मानवीय संवेदनाको धरातलमा उभिएर हाम्रो भित्री चेत र विवेकलाई सोध्नैपर्ने केही आधारभूत प्रश्न उब्जिन सक्छन्।
आफ्नो पतिको प्राणरक्षाका लागि समाजले वर्जित गरेको बाटो रोज्ने भोटिनी सही थिइन् वा गलत? वास्तवमा 'पाप' के हो र 'पुण्य' के हो? उनले गरेको कार्य पाप थियो कि चरम निष्ठा र प्रेमको सबैभन्दा ठूलो पुण्य?
यही प्रश्नले राइटर बाजेलाई एउटा कथा मात्र होइन, मानव अवस्थाको दार्शनिक अध्ययन बनाउँछ।
बिपीले भोटिनीको नैतिकता बदल्न खोज्दैनन्। उनी त पाठकको नैतिक निर्णय गर्ने तरिका बदल्न खोज्छन्। हामीलाई पात्रको जीवनभित्र प्रवेश गर्न बाध्य बनाइदिन्छन्। र, कथा सकिँदासम्म हामीसँग असहज प्रश्नहरू मात्र बाँकी रहन्छन्।
यही ठाउँमा बिपीको साहित्य राजनीतिभन्दा ठूलो देखिन्छ।
राजनीतिले वर्गीकरण गर्छ। कानुनले निर्णय गर्छ। समाजले नैतिक मूल्यांकन गर्छ। तर साहित्यले एउटा फरक काम गर्छ। त्यो निर्णय गर्नुअघि त्यो निर्णयको परिधि बुझ्न बाध्य बनाउँछ।
निःसन्देह, भोटिनी र गणेश नेपाली एउटै नैतिक वा ऐतिहासिक परिस्थितिका पात्र होइनन्। उनीहरूको निर्णय फरक छन्। तर उनीहरूलाई बुझ्ने हाम्रो सामाजिक दृष्टिमा भने एउटा गहिरो समानता छ।
व्यवस्थाको अत्याचार र समाजको उपेक्षाविरूद्ध विद्रोह गर्दा उनीहरूले हिंसा बाहिर फैलाएनन्, बरू त्यो पीडालाई आफैभित्र सोसे। भोटिनीले समाजसँग बदला लिने प्रयास गरिनन्; उनले कुष्ठरोगको शारीरिक पीडा र पूर्ण एकांकीपनलाई मौनताका साथ स्वीकार गरिन्।
त्यस्तै, गणेश नेपालीले पनि राज्यको संवेदनहीन संयन्त्र र बन्द ढोकाहरूका अगाडि आफ्नो आवाज नसुनिएपछि, त्यो आक्रोश र लाचारीलाई आफ्नै शरीरमा आगो लगाएर आन्तरिकीकरण गरे। त्यो आत्मदाह केवल एउटा आत्महत्या थिएन। त्यो व्यवस्था विरूद्ध गरिएको अन्तिम चीत्कार पनि थियो, जसले सोधिरहेको थियो, 'के मलाई यो धर्तीमा बाँच्ने अधिकार पनि छैन?'
यस्तै कारणले भोटिनी र गणेश नेपालीको घटना एउटै प्रश्नमा आएर जोडिन्छन्। भोटिनी र गणेश नेपाली भिन्न पात्र हुन्। उनीहरूको जीवन, परिस्थिति र निर्णयहरू फरक छन्। तर समाजले उनीहरूलाई हेर्ने तरिका भने अचम्मसँग एउटै छ। कानुन, नैतिकता र सामाजिक परिधिबाट हुने व्याख्याबाट भोटिनी पापिनी भइन्, र गणेशलाई निर्मम तरिकाले दोषी बनाइयो।
तर एउटा प्रश्न भने फेरि छुट्यो— त्यो मानिस किन यस्तो ठाउँमा पुग्यो, जहाँ आफ्नै शरीरमा आगो लगाउनु उसलाई बाँकी सबै विकल्पभन्दा सम्भव लाग्यो?
यही प्रश्नबाट शासन सुरू हुनुपर्छ। यहाँ एउटा स्वाभाविक प्रतिवाद उठ्छ, नियम कठोर हुनुपर्छ, नत्र अख्तियारी दुरूपयोग हुन्छ। यो तर्क गलत होइन। तर विवेकपूर्ण शासनको माग अधिकारीको व्यक्तिगत दयाभाव होइन। माग त्यस्तो प्रणालीको हो, जसको बनोटमै मानिसको भोलि समाविष्ट होस्, जरिवानाको तह होस्, तत्काल राहतको बाटो होस्, आपत्कालीन अवस्थाको प्रावधान होस्।
विवेक भनेको नियम तोड्नु होइन। विवेक भनेको नियम यसरी बनाउनु हो, त्यसले मानिसको बाँच्ने अधिकारलाई नबिर्सोस्।
राजनीतिक दार्शनिक हाना आरेन्टले साठीको दशकमा यही खाडललाई एउटा नाम दिइन्, 'दुष्टताको सामान्यता।'
उनले एडल्फ आइखम्यानको मुद्दाबाट थाहा पाइन्, उनी कुनै राक्षस थिएनन्। उनी त एउटा साधारण कर्मचारी थिए, जसले आफ्नो कामलाई नियमित प्रक्रियाका रूपमा लिए र त्यो प्रक्रियाभित्र कति ठूलो मानवीय विनाश लुकेको छ भनेर सोच्नै छोडे।
आरेन्टको तर्क डरलाग्दो थियो, दुष्टता सधैं राक्षसी अनुहारमा आउँदैन। यो प्रायः फाइल, फारम, र 'नियमअनुसार' भन्ने वाक्यांशको पछाडि लुक्छ।
दार्शनिक आइजाया बर्लिनले अर्को कोणबाट यही समस्यालाई छोए।
उनले भने, 'मानवीय मूल्यहरू प्रायः एकआपसमा बाझिन्छन्, स्वतन्त्रता र समानता, न्याय र दया, नियम र मानवता। यी बाझाबाझलाई कुनै एउटा अन्तिम सूत्रले सधैंका लागि समाधान गर्न सकिँदैन। शासकको काम भनेकै यो निरन्तर तनावलाई इमानदारीसाथ बोक्नु हो, एउटै खण्डित प्रश्नमा साँघुरो पारेर मेटाउनु होइन।
बिपी, आरेन्ट र बर्लिन तीन फरक परम्पराका चिन्तक हुन्। तर तीनै जनाले एउटा साझा चेतावनी दिन्छन्। जब राजनीति मानिसभन्दा सिद्धान्तमा, नियममा वा वर्गीकरणमा बढी विश्वास गर्न थाल्छ, तब न्यायको भाषा बिस्तारै मानवताको भाषाबाट टाढिँदै जान्छ।
बिपीको साहित्यले हामीलाई बारम्बार त्यही कुरा सिकाइरहेको छ। कुनै पनि मानिसलाई उसको सबैभन्दा अन्तिम निर्णयबाट मात्र बुझ्न मिल्दैन। उसलाई त्यस निर्णयसम्म पुर्याउने जीवनबाट बुझ्नुपर्छ। यही नै साहित्यले शासनलाई सिकाउन सक्ने सबैभन्दा ठूलो पाठ हो।
गणेश नेपालीको मृत्युले सरकारको परीक्षा लियो। तर त्यसले प्रतिपक्षको पनि परीक्षा लियो। सञ्चारमाध्यमको पनि। सामाजिक सञ्जालको पनि। र अन्ततः हाम्रो पनि। किनभने लोकतन्त्रमा राज्य समाजबाट अलग भएर अस्तित्वमा रहँदैन। राज्यले जुन भाषा बोल्छ, त्यो भाषा समाजले नै उसलाई सिकाएको हुन्छ। र, आजको युगमा समाजलाई पनि राज्यले भाष्य सिर्जना गरी सिकाइरहेको छ।
हामीले पछिल्ला वर्षहरूमा एउटा अनौठो परिवर्तन देखिरहेका छौं। हामी पहिलेभन्दा धेरै सूचित भएका छौं। तर सायद पहिलेभन्दा कम संवेदनशील। हामीसँग तथ्यहरू छन्। तर कथा हराउँदै गएका छन्। हामीसँग विश्लेषण छ। तर अनुभव सुन्ने धैर्य हराउँदै गएको छ। हामीसँग निर्णय छन्। तर त्यसमा 'मानिस' छैनन्।
हामीले मानिसलाई एउटा शब्दमा कैद गर्न सिक्यौं। त्यसपछि हामीलाई उसको कथा जान्न आवश्यक ठानेका छैनौं। यसै कारण हाम्रो सार्वजनिक बहस दिनप्रतिदिन कठोर हुँदै गएको छ। किनकि कथा हराउँदा जटिलता हराउँछ। जटिलता हराउँदा मानिस हराउँछ। र, मानिस हराएपछि केवल पक्ष र विपक्ष बाँकी रहन्छ।
बिपीले यही खतरा धेरै पहिले देखिसकेका थिए। त्यसैले उनका कथाहरूमा पात्रहरू कहिल्यै पूर्ण रूपमा दोषी हुँदैनन्। कहिल्यै पूर्ण रूपमा निर्दोष पनि हुँदैनन्। उनी आफ्ना पात्रहरूको पक्ष लिँदैनन्। उनी उनीहरूको मानवतालाई निर्मम, जस्तो छ त्यस्तै प्रस्तुत गर्छन्। र, मलाई लाग्छ, लोकतन्त्रको अन्तिम उद्देश्य पनि यही हुनुपर्छ।
जब कुनै राज्य वा प्रशासनिक संयन्त्र 'नियम', 'व्यवस्था' र 'तर्कशीलता' को भाषा मात्र बोल्न थाल्छ, तब त्यो मानवीय संवेदनाबाट बिस्तारै विमुख हुन पुग्छ।
गणेश नेपालीको सन्दर्भमा नगर प्रहरीका लागि ह्विल–लक र जरिवाना नियम कार्यान्वयनको सामान्य प्रक्रिया थियो। तर गणेशका लागि त्यो केवल एउटा मोटरसाइकल थिएन, त्यो उनको परिवारको जीविकाको आधार थियो। यही दुरीले नियम र मानवताको बीचमा कहिलेकाहीँ पैदा हुने खाडल देखाउँछ।
'राइटर बाजे' र गणेश नेपालीको घटनाले अन्ततः एउटै कुरा सम्झाउँछन्, जब कानुनले मानिसको बाँच्ने आधार देख्न छोड्छ, तब कानुन न्यायको माध्यमभन्दा बढी असंवेदनशील संरचना बन्न थाल्छ। मानवता संरचनाभन्दा माथि रहन सकेन भने समाज न्यायपूर्ण त हुन सक्दैन नै, सभ्य पनि रहन सक्दैन।
नेपालको राजनीतिमा बिपी कोइरालाको नाम सबैभन्दा धेरै उच्चारण गरिने नामहरूमध्ये एक हो। कसैले आफूलाई उनको राजनीतिक उत्तराधिकारी भन्छ। कसैले उनको लोकतान्त्रिक आदर्शलाई पछ्याउने दाबी गर्छ। कसैले उनको समाजवादको व्याख्या गर्छ।
तर प्रश्न उत्तराधिकारीको होइन। प्रश्न उत्तराधिकारको पनि होइन। प्रश्न त दृष्टिको हो। हामीले बिपीको नाम धेरै लियौं, तर उहाँले संसारलाई हेर्ने तरिका कति आत्मसात गर्यौं?
बिपीको उत्तराधिकारी हुनु भनेको उहाँजस्तै भाषण दिनु मात्र होइन। उहाँले जस्तै मानिसलाई हेर्न सक्नु पनि हो।
म अझै पनि सोचिरहेको छु, यदि राइटर बाजे लेख्ने बिपी हामीमाझ थिए भने, उनले संसदमा सबभन्दा पहिले कुन प्रश्न सोध्थे? कानुनको? मानसिक स्वास्थ्यको? राजनीतिक उत्तरदायित्वको? वा एउटा नागरिक किन यस्तो असह्य एकान्तमा पुग्यो भन्ने प्रश्नको?
कुनै पनि सरकारको सफलता सेवा प्रवाहले मात्र मापन हुँदैन। कहिलेकाहीँ त्यो नागरिकको अन्तिम निराशालाई राज्यले कति छिटो देख्न सक्यो भन्नेबाट पनि मापन हुन्छ।
संसदमा गणेश कार्की, जगदीश खरेल लगायतले मानसिक स्वास्थ्यको महत्त्वबारे बोले। त्यो आवश्यक थियो। नेपालले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्राथमिकतामा राख्नैपर्छ।
तर त्यहाँ अर्को प्रश्न पनि थियो। के हामीले राज्यको संवेदनशीलताबारे पर्याप्त प्रश्न सोध्यौं?
यदि एउटा नागरिक यति गहिरो निराशामा पुगेको थियो भने, त्यसलाई केवल मानसिक स्वास्थ्यको बहसमा सीमित गर्नु पर्याप्त थियो?
कि लोकतान्त्रिक शासनले आफैलाई पनि सोध्नुपर्थ्यो, 'हामी कहाँ चुक्यौं?'
यही ठाउँमा बिपी आज पनि समकालीन छन्। उनले हामीलाई दोषी खोज्न सिकाएनन्। उनले हामीलाई मानिस खोज्न सिकाए। र, मलाई लाग्छ — यही पाठ आज सरकारलाई पनि आवश्यक छ।
आज बिपी स्मृति दिवसका दिन, म सबै जनालाई एउटा मात्र आग्रह गर्छु— श्वेत भैरव खोलेर राइटर बाजे पढ्नुस्। त्यसपछि फेरि गणेश नेपालीको घटना सम्झिनुस्। त्यसपछि आफैलाई एउटा प्रश्न सोध्नुस्। हामीले त्यो घटनामा कानुन देख्यौं कि मानिस?
लोकतन्त्रको भविष्य पनि यही प्रश्नलाई हामीले कति गम्भीरतापूर्वक सोध्न सक्छौं भन्ने कुरामा निर्भर छ।
सायद हामी कहिल्यै निश्चित रूपमा भन्न सक्दैनौं, बिपी आज जीवित थिए भने उनले के सोध्थे।
तर उनका पात्रहरूले एउटा कुरा सिकाउँछन् — उनीहरूले कुनै पनि मानिसको अन्तिम निर्णयभन्दा पहिले उसको जीवन पढ्न सिकाउँछन्।
त्यसैले गणेश नेपालीको घटनामा पनि सायद उनको पहिलो प्रश्न दोषी को थियो भन्ने होइन, 'तिमी यस्तो ठाउँमा कसरी पुग्यौ' भन्ने हुन्थ्यो होला।
(लेखक प्रशान्तराज कार्की त्रिभुवन विश्वविद्यालयको एमबिए कार्यक्रममा 'एआई फर बिजनेस' अध्यापन गर्छन्। र, प्रविधिलाई व्यवस्थापन तथा रणनीतिक निर्णयसँग जोड्ने विषयमा रूचि राख्छन्।