कुनै कुरा लेख्नलाई
शब्दहरू पनि त
आफ्नो मौसम कुरिरहेका हुन्छन्
कुनै सत्य पोखिनलाई
हरेक बिहानीको आफ्नै उज्यालो हुन्छ;
रात जतिसुकै अन्धकार भए पनि
प्रभातको समय आउँछ।
कसैलाई भेट्नलाई
बाटाहरू जतिसुकै दूर भए पनि
समयको कुनै अद्भुत मोडमा
फेरि भेट हुनैपर्छ।
कसैलाई माया गर्न
फूललाई जबरजस्ती फुलाउन सकिँदैन;
मायाको पनि आफ्नै मौसम हुन्छ
बेला आएपछि
ढुङ्गाभित्र पनि वसन्त उम्रिन्छ।
कसैसँग रिस पोख्न
मनमा थुप्रिएको आगोले पनि
कहिलेकाहीँ
शीतल वर्षाको प्रतीक्षा गर्छ।
कसैलाई क्षमा गर्न
मनले ढोका थुने पनि
समयले त्यही चौकामा
अन्त्यमा क्षमाको फूल राखिदिन्छ।
तर;
फूल रोप्न खोज्दा पनि
काँडाको आरोप लाग्छ
खाएकोभन्दा नखाएको विष लाग्छ।
मनमा अमृत बोकेर हिँड्नेहरूकै भागमा
नबुझ्नेहरूको नजरमा
दोषीको छाप लाग्छ।
कसैलाई उजुर गर्न
हरेक आँसुको आफ्नै भाषा हुन्छ
र हरेक गुनासोको
आफ्नै सुन्ने समय।
कसैलाई सम्झाउन
समयभन्दा ठुलो शिक्षक कोही छैन;
उसले नबोलीकनै
सबै कुरा बुझाइदिन्छ।
त्यसैले;
हरेक सत्य तुरुन्तै प्रमाणित हुँदैन
हरेक असल नियत तुरुन्तै बुझिँदैन
र हरेक मौनता कमजोरी हुँदैन।
कहिले स्विकार्नु, कहिले अस्वीकार गर्नु
कहिले अङ्गाल्नु, कहिले टाढा हुनु
यी सबै जीवनका
आ-आफ्नै ऋतु हुन्।
हतार नगरौँ;
बीउको आफ्नै समय हुन्छ
फूलको आफ्नै बेला आउँछ
झर्ने पातको आफ्नै पालो हुन्छ
र वसन्त पुनः फर्किन्छ।
आज गलत बुझिएको मान्छे
सधैँ गलत रहँदैन;
आज मौन रहेको सत्य
सधैँ ओझेल पर्दैन।
समय त एक अविरल नदी हो,
बग्दै जान्छ
र एक दिन
किनारमा सत्यको ढुङ्गा
आफैँ उघ्रिएर देखिन्छ।
हरेक कुराको बेला आउँछ;
हरेक शब्दको,
हरेक भावनाको,
हरेक निर्णयको,
हरेक सत्यको।
कसैको चाँडो,
कसैको ढिलो,
तर;
हरेकको समय आउँछ!