नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीले पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापतिको व्यवस्था प्रस्ताव गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ। उम्मेदवारी दर्ताका लागि सभागृहमा महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरूको चहलपहल बढेको छ।
चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि हुन्। उनी मधेसी क्लस्टरबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका थिए।
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका चौधरी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट निर्वाचित भएका थिए। गत फागुनको निर्वाचनमा भने उनी यही क्षेत्रबाट उम्मेदवार बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।
यसअघि २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको कांग्रेसको १४औं महाधिवेशनमा पनि चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसद बनेका थिए।
उम्मेदवारी घोषणा गर्दै चौधरीले कांग्रेसले युवा नेतृत्वलाई स्थापित गर्नुपर्ने र आर्थिक रूपान्तरणको स्पष्ट दृष्टिकोण भएका नेताहरूलाई नेतृत्वमा पुर्याउनुपर्ने बताएका छन्।
सोमबार जारी गरेको अपिलमा उनले देशले अहिले युवा नेतृत्व खोजिरहेको भन्दै आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिलाई कांग्रेसको नेतृत्वको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
'देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ। यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ। साथै, आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्याई आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरू गर्नुपर्नेछ,' उनले भनेका छन्।
विशेष महाधिवेशनमा आफ्नो सहभागिता कसैप्रतिको वैरभावका कारण नभएको पनि चौधरीले स्पष्ट पारेका छन्।
जेनजी आन्दोलनले दिएको सन्देश, परिवर्तनको जनआकांक्षा र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रतिबद्धताका कारण आफू विशेष महाधिवेशनमा सहभागी भएको उनले बताएका छन्।
'पार्टीमा युवा नेतृत्वलाई स्थापित गर्दै जनअपेक्षा अनुसारको नेपाली कांग्रेस निर्माण गर्नुपर्छ भन्ने सोचका साथ मैले विशेष महाधिवेशनलाई सफल बनाउन आफूलाई पूर्ण रूपमा समर्पित गरेको थिएँ,' उनले भनेका छन्।
चौधरीले आर्थिक रूपान्तरणमा नेपालले थप ढिलाइ गर्न नहुने पनि बताएका छन्।
उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गरिसके पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षा अनुसार अघि बढ्न नसकेको बताएका छन्। यही विषयमा आफू कांग्रेस सभापति गगन थापासँग निरन्तर सहकार्यमा रहेको उनको भनाइ छ।
कांग्रेस नेतृत्वको २०४८ देखि २०५१ सालसम्मको सरकारका पालामा अघि बढाइएको आर्थिक सुधारलाई ऐतिहासिक र दूरगामी महत्त्वको भन्दै चौधरीले त्यसलाई नयाँ चरणमा लैजान नसक्दा मुलुकले अपेक्षित आर्थिक गति लिन नसकेको बताएका छन्।
उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारमार्फत त्यसबेला नेपालको अर्थतन्त्रमा नयाँ सम्भावना खुलेको उल्लेख गर्दै उनले तत्कालीन सरकारका तर्फबाट महेश आचार्य र डा. रामशरण महतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा आफूले पनि निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई संस्थागत गर्न भूमिका खेलेको उनले बताएका छन्।
चौधरीले बिपी कोइरालाको राजनीतिक सोच र सुवर्णशमशेर जबराले अघि सारेको आर्थिक विकासको आधारलाई थप समृद्ध बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।
'विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्छ,' उनले भनेका छन्।
देश विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति–निर्माताबीच संस्थागत र निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
राजनीति र अर्थतन्त्रलाई अलग–अलग क्षेत्रका रूपमा नभई एउटै राष्ट्रिय विकास यात्राका परिपूरकका रूपमा बुझ्नुपर्ने उनले बताएका छन्।
'हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ,' उनले भनेका छन्।
युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।
यही एजेन्डासहित आफूले उपसभापति पदमा उम्मेदवारी दिएको चौधरीले बताएका छन्।
'यो उम्मेदवारी केवल एउटा पदका लागि होइन—आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो,' उनले भनेका छन्।
चौधरीले अब 'राजनीतिका लागि राजनीति' गरेर देशमा रूपान्तरण सम्भव नभएको भन्दै आर्थिक समुन्नतिका स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताएका छन्।
'आर्थिक समुन्नतिको जिम्मेवारी सम्हाल्न म तयार छु,' उनले भनेका छन्।