बुबा, जन्मपश्चात् मृत्यु निश्चित छ। तर केही मृत्युहरू यति भयावह किन हुन्छन्? किन केही वियोगले विशाल हृदयलाई छिनमै बगर बनाइदिन्छन्? किन आँखामा आँसुको उर्लेको भोटेकोसी बाढी ल्याउँछन्, दिलमा कहिल्यै नपुरिने घाउ बनाउँछन् र हृदयलाई भित्रभित्रै छियाछिया पारिदिन्छन्?
हरेक प्राणीले आफ्नो जन्मसँगै मृत्युपनि बोकेर आएका छन्। त्यही मृत्यु कसैका लागि छिटो त कसैका लागि ढिलो आउँदो रहेछ। हर कोहीलाई पनि मृत्यु र मृत्युको पीडा खप्न नसक्ने हुँदो रहेछ। मृत्युलाई देख्नेले आजसम्म केही लेखेका छैनन् र लेख्नेले पनि देखेका छैनन्, बस् पीडा मात्र नथेग्ने गरी महसुस गर्ने रहेछन्।
गत सेप्टेम्बर तारिखका दिन काम सकेर घर फर्किन लागेकी थिएँ। एकछिन आकाशतिर चिहाएँ। डम्म कालो बादल मडारिएको थियो। त्यसैबेला मोबाइल खोलेर हेर्दा फेसबुकमा राखिएको एउटा श्रद्धाञ्जली सन्देशमा मेरा आँखा अचानक अडिए। त्यो एकै क्षणमा मलाई लाग्यो, आज आकाशमा मात्र होइन, मेरो सम्पूर्ण संसारभरि नै कालो बादल मडारिएको छ।
हतारहतारमा श्रीमानलाई फोन गरेँ, ‘कस्लाई के भयो?’
श्रीमानले भन्नुभयो, ‘माइलो बुबा अब हामी माझ हुनुहुन्न!’
उहाँको कुरा नसकिँदै साउने झरीले चिस्यानका पानीका मुहान रसाएजसरी मेरा आँखा अनायासै रसाउन थाले। शब्दहरू कता हराए पत्तै पाइनँ। केही लेख्न सकिनँ। केवल यति लेखेँ त्यो श्रद्धाञ्जली लेखेको स्टाटसमा-
‘यो कस्तो दुःखद खबर! बुबा, हजुरले त छोडेर जानुभयो, तर हामीलाई सम्हालिन निकै गाह्रो भयो…’
यी शब्द के लेख्दै थिएँ, मेरा आँखामा वियोगको ठूलो भोटेकोसी उर्लिएर आयो। आँसुका प्रत्येक थोपा झर्दै गर्दा विगतका ती दिनहरू सम्झिन थालेँ।
बुबा, चितवनबाट काठमाडौं प्रायः घरबाट छोरी माइत आएजस्तै गरी वर्षौंदिनमा हजुर आउनुहुन्थ्यो। हजुर घर आउँदा नाताले माइलो ससुरा भए पनि हृदयले माइती बुबा आए जसै भान गराउनुहुन्थ्यो। ती सब यादहरू यति बेला मेरो हृदयमा एकपछि अर्को रिलका पर्दा बनी आइरहेका छन्।
हजुरका हरेक भेटमा आउँदा हजुरले दिनुभएको आशीर्वाद, मेरा प्रत्येक उपलब्धिमा हजुरको अनुहारमा देखिने त्यो निष्कलंक खुसी, हजुरआमाको हेरचाह गर्दा पाएका हजुरका धन्यवादका ती आत्मीय शब्दहरूका वर्षा र मेरो शैक्षिक यात्राका प्रत्येक खुड्किला पार गर्दा हजुरको हृदयबाट निस्कने प्रशंसाका ती मिठा धुनहरू। त्यसैगरी वर्षौं पहिला अस्पताल उपचार गराएर घर आएपश्चात् हजुरले भनेको ‘तिमी मेरो लागि भगवान् बनेर आयौ र म बाचेँ’ भन्ने प्रेमले भरिएका शब्दका भारी म कहाँ बिसाऊँ? म कसरी बिर्सु बुबा?
एउटी बुहारीलाई विवाहपश्चात् घरमा ससुराबुबा मार्फत मिल्ने यो शब्द र प्रेमले भरिएको बकसपत्र अरबौँ मूल्यले पनि चुक्ता गर्न नसक्दो रहेछ। म त्यो हजुरको प्रेम र प्रेरणाले भरिएका पलहरूको गुण कसरी तिरूँ?
बुबा, जब म आफ्नो शैक्षिक धरहराको एउटा–एउटा तला थप्दै जान्थेँ, हजुरको खुसीले मलाई अर्को तला चढ्ने हिम्मत दिन्थ्यो। हजुरका केही शब्दहरू नै मेरा लागि कहिलेकाहीँ संसारकै महँगो पुरस्कार बनिदिन्थे। त्यो पुरस्कारमा कुनै सुनचाँदी थिएन तर शब्दमा वर्णन गरेर नअटाउने एउटा सिङ्गो रामायण थियो। हजुरले ममाथि गर्नुभएको विश्वास। त्यसैले त मैले हजुरलाई केवल ससुराबुबाको रूपमा मात्र कहिल्यै हेर्न सकिनँ। हजुर मेरा लागि एउटा प्रेरणाको प्रेमिल मूर्ति हुनुहुन्थ्यो।
जब मेरो कहिलेकाहीँ काठमाडौंबाट यात्रा सुरु हुन्थ्यो, मुग्लिन सडकखण्ड पार गरिसकेपछि चितवन नआउँदासम्म आउने भनेकै हजुरको याद थियो। त्यसैले बुबा, अब नेपाल जाँदा अहिले पनि चितवनमा हजुरलाई भेटेर केहीबेर बस्ने मेरो इच्छा भित्रभित्रै प्रेमका काँटीले दिलमा बुनीरहेकी थिएँ। भेटघाट रेस्टुरेन्टमा हजुरसँग बसेर म:म र तास खाने ठूलो इच्छा थियो तर अधुरै रह्यो।
कति सानो थियो त्यो इच्छा, हैन र बुबा? त्योभन्दा ठूला सपनाका धरहरा पनि खडा गर्दै थिएँ, तर बुबा, तला पूरा नहुँदै छोडेर जानुभो! अहिले त्यो धरहरा गल्याम्म ढले झैँ ठानीरहेकी छु। त्यसैले आज आफ्ना अधुरा सपनाहरूको बीचमा उभिएर म आफैँलाई एउटा प्रश्न सोधिरहेकी छु- बुबा हजुर किन सबैका लागि यति आत्मीय प्रिय हुनुहुन्थ्यो?
भन्छन्, ‘मानिसको शरीर समाप्त हुन्छ, समय बित्दै जान्छ, तर उसका कर्महरूले बनाएको पहिचान समयको सीमाभन्दा पर पनि बाँचिरहन सक्छ। जो मानिस गुणकारी, हितकारी र समाजका लागि उपयोगी हुन्छन्, उनीहरूको पहिचान इतिहासका पानामा लेखिन्छ। समय परिवर्तन हुँदै गए पनि उनीहरूले गरेका असल कर्महरू जीवन्त रहन्छन् र भावी पुस्ताका लागि आदर्श बन्न पुग्छन्।’
त्यसैले पनि होला बुबा, हजुर हामी सबैका लागि प्रिय बन्न सफल बन्नुभयो। सबैको मन जित्न माहिर हुनुभयो। धेरैका लागि हितैषी, उपयोगी र असल बन्नुभयो। किनकि अन्ततः मानिससँग रहने सबैभन्दा दीर्घायु सम्पत्ति उसको धन वा पद होइन रहेछ। रहने भनेकै यही उसले छोडेर गएको असल कर्म त जीवन्त पहिचान रहेछ।
यतिबेला म उही हजुरको असल कर्म सम्झिरहेकी छु बुबा। हजुरको बोलीमा मिसिएको त्यो सगरमाथा जत्तिकै अग्लो हक्की साहस झलझली सम्झिरहेकी छु। हजुरको कर्मले छोडेको उज्यालो निकै चम्किलो छ बुबा! जुन चमकको छत्रछायामा रहेर हामी पनि सत्कर्मको बाटोमा हिँड्न सकौँ।
सायद हजुरलाई थाहा थिएन होला, हजुरका ती सामान्य लाग्ने शब्दहरूले अन्यका जीवनमा कति ठूलो अर्थ राख्थे। ती शब्दहरूलाई म कति ठूलो प्रेमको नजरले बाँधेर शक्ति र साहसमा लगानी गर्दथे। जसबाट असम्भव लाग्ने व्यर्थका कुराहरूलाई पनि सम्भव सोचेर अर्थपूर्ण बनाउँदै मनग्गे मनलाई साहसिक बनाउथेँ।
यसरी कहिलेकाहीँ कसैले दिएको एउटा सानो हौसला पनि मानिसको जीवनमा वर्षौँसम्म बाँचिरहन्छ भन्ने सुनेकी थिएँ, आखिर मेरो जीवनमा पनि सोही साबित भयो बुबा। हजुरका ती शब्दहरू पनि मेरो जीवनयात्रामा त्यसैगरी बाँचिरहनेछन्। आज मलाई सीएस लुइसले शोकबारे लेखेका कुराको भाव सम्झना भइरहेको छ, प्रिय मानिस गुमाएपछि संसार उही हुन्छ तर हामीले त्यस संसारलाई हेर्ने आँखामा ठूलो परिवर्तन आइसकेको हुन्छ।
बुबा, आज मेरो संसार पनि उही छ। आकाश उही छ। सहर उही छ। बाटाहरू उही छन्। मानिसहरू उही छन्। तर धेरै कुरा फेरिएको छ। किनकि अब त्यो एउटा फोन नम्बरमा हजुर हुनुहुन्न। अब मैले ‘बुबा’ भनेर बोलाउँदा फोनको अर्को छेउबाट हजुरको आवाज आउने छैन। चितवन घर हुनेछ, हजुर हुनुहुने छैन। यही खालीपन सायद वियोगको सबैभन्दा ठूलो पीडा हो रहेछ बुबा!
यसरी आज हजुरको अनुपस्थितिमा पनि आत्माहरूसँग मनमनै आत्मिक साक्षात्कार गर्दै बातचित गर्दैछु। र हजुरको मृत्यु पश्चात् मानवीय जीवनको गहिरो अनुभूतिको साँचो मूल्यबोध गर्न थालेकी छु। हजुरसँग सबथोक थियो, तर अन्ततः हजुर जाँदा रित्तै जानु भो। जुन कुराले जीवन र जगत्बारेको मिठो दर्शन सिकाएको आभास भएको छ।
बुबा, आज म आफ्नै एउटा बानीप्रति पनि मनमनै धिक्कारिरहेकी छु। धेरैले भन्नुहुन्छ नि, तिमी कल गर्छौ न म्यासेज न केही! ममा कसरी यस्तो अजीव बानी बस्यो मसँग यसको जवाफ छैन तर म प्रियजनहरूलाई दिलदेखि समयसमयमा याद गरिरहेकी हुन्छु। यसरी यतीबेला बारम्बार मनसँग मौन संवाद गरिरहेकी छु।
‘कस्तो रहेछ मेरो बानी पनि! न कहिल्यै फोन गरेँ, न कहिल्यै सन्देश पठाएँ। कहिलेकाहीँ हजुरलाई फोन गरेको भए कति कुरा गर्न पाइन्थ्यो होला! कति सम्झनाहरू अझै सँगाल्न पाइन्थ्यो होला!’
सायद जीवनमा सबैभन्दा पीडादायी वाक्य यही रहेछ बुबा!
त्यसैले हजुरको वियोगले मलाई जीवनकै एउटा गहिरो गतिलो पाठ सिकाएको छ। वृद्ध हुँदै गरेका आमाबुबा, बिरामी आफन्त र आफूलाई माया गर्ने प्रियजनहरूसँग ‘पछि कुरा गरौँला’ भनेर सम्बन्धलाई कहिल्यै थाती राख्नु हुँदैन रहेछ। किनकि ‘पछि’ भन्ने समय सधैँ हाम्रो प्रतीक्षामा हुँदैन रहेछ।
कहिलेकाहीँ एउटा फोन गर्न बाँकी रहन्छ, सन्देश लेख्न बाँकी रहन्छ, भेट गर्न बाँकी रहन्छ, एउटा अँगालो बाँकी रहन्छ। तर जब हामी सबै कुरा पूरा गर्न तयार हुन्छौँ, त्यतिबेला हामीले भेट्न र बोल्न खोजेको मानिस नै समयले अर्को किनारमा पुराइसकेको हुँदो रहेछ। हामीले मनमा सँगालेका योजनाको कुनै लिखित ग्यारेन्टी हुँदो रहेनछ।
बुबा, आज मेरा आँखाबाट बगेका यी आँसु केवल हजुरको मृत्युको आँसु मात्र कदापि होइनन्, प्रत्येक पटक आँखाबाट बग्ने आँसुहरूमा म यतीबेला महसुस गरिरहेकी छु र भन्दै छु, हजुरले दिनुभएको प्रेम, विश्वासका आँसु हुन्। हजुरले मेरो यात्रामा थपिदिनुभएको हिम्मत र सफलतामा देखाउनुभएको खुसीका सम्झनाका आँसु हुन्।
सायद सबैभन्दा धेरै हजुरसँग अब बाँकी नरहेको भेटका आँसु हुन्। त्यसैले भुलौँ भन्दा पनि सकिरहेकी छैन, मनको आकाशमा विगतका ती सबै यादहरू कालो बादलझैँ मडारिएका छन्। मान्छेहरू भन्ने गर्थे तिम्रो दिल बलियो छ, पत्थरको रहेछ! तर जतिसुकै बलियो मुटु पनि मृत्युको सवालमा कमजोर हुँदो रहेछ।
तर बुबा हजुरसँग मेरो एकदमै ठूलो गुनासो पनि छ। ३ वर्ष पहिले गङ्गालाल अस्पतालमा डा. सापले मेरै आँखाअगाडि हजुरलाई भन्नुभएको थियो। ‘तपाईंले अबदेखि सबैभन्दा धेरै प्रेम आफूलाई, आफ्नो शरीरलाई गर्नु है’ तर बिडम्बना बुबा, हजुरले त्यो कुरा बिर्सनुभयो। जसकारण आज हामीलाई हजुरले गर्ने प्रेम पनि हामीबाट गुम्यो।
यो कस्तो अजीव रहेछ बुबा, जिन्दगी फगत हामी आफूलाई भन्दा बढी प्रेम अन्य चीजलाई गर्छौँ तर त्यसको बदला त्यो हामीले प्रेम गरेको चीज कहिलेकाहीँ हामीलाई घातक साबित गरेर पनि निस्कँदो रहेछ। तर मेरो यो गुनासो निरर्थक पनि हुन सक्छ।
भन्छन् जन्म, मृत्यु र विवाहको योगको मिति माथिबाटै तय भएको हुन्छ। यसरी आज यही अँध्यारो रातमा, मलाई सारा संसार नै अँध्यारो लागिरहेको छ, म विगतका उज्याला स्मृतिहरू समातेर सिरानी फिजाउँदै लेखिरहेकी छु।
म हजुरलाई मनको मन्दिर र मस्तिष्कका तखताहरूमा मात्र सीमित राख्न उचित ठानिनँ। त्यसैले शब्दहरूको संसारमा यतीबेला हजुरलाई घुमाइरहेकी छु। आजदेखि हजुर हामीबाट टाढा गए पनि यी डायरीका पानाहरूमा सजिएर युगौँ जीवित रहनुहुनेछ।
मेरो कोखमा बसेकी मेरी सानी नानीले पनि आज मेरो दुःख सायद आफ्नै तरिकाले बुझिरहेकी छिन्। म रोएको देखेर उसले मलाई सम्झाएझैँ गर्छिन्-
‘मामु, हजुर यता हेर्नु न, रुनुहोस्, खै रुनुहोस् कि नाई? नरुनु न। मलाई पनि त चितवनका बुबाले कति माया गर्नुहुन्थ्यो…’
मसँग उनको लागि जवाफ दिने शब्द छैनन्, बास् आँसुहरू पुछेर फ्यालेका चिसा टिस्यु पेपरका थुप्रोहरू छन्, सायद उनी जवाफ यही भिजेका पेपरहरूमा भेट्छिन् होला!
उनका ती साना शब्दहरूमा कति ठूलो सान्त्वना लुकेको छ! तर मन यति सजिलै कहाँ सम्हालिँदो रहेछ र? अब विगतका उही यादहरूमा मन डुलाउने सिवाय अरू हुँदो रहेनछ। अबका हाम्रा पर्व समारोहहरूमा म आकाशतिर हेरेर मनमनै भन्नेछु, बुबा हामी हजुरलाई सम्झिरहेका छौँ है?
त्यो बेला हजुर आँखाअगाडि नरहे पनि हजुरको आशीर्वाद मेरो साथमा भएको भान गर्नेछु। हजुरका शब्दहरू मेरो कानमा गुञ्जिरहनेछन्। हजुरको मुस्कान मेरो स्मृतिमा जीवित रहनेछ। हजुरले दिएको प्रेम मेरो जीवनको सम्पूर्ण यात्रामा अजर अमर बाँचिरहनेछ।
हरेक खुसी र दुःखका क्षणमा हजुरको सम्झना आउनेछ। हरेक उपलब्धिको पछाडि हजुरका ती प्रोत्साहनका शब्दहरू गुञ्जिरहनेछन्। पोहोर सालको दसैँमा हजुरको हातबाट लगाएको टीका नै अन्तिम रहेछ! अहिलेको दसैँमा सोही तस्बिर हेरेर चित्त बुझाउन यो मन आनाकानी गरिरहेको छ।
हजुरसँग भेट्न बाँकी रहेको त्यो अन्तिम भेट अब कहिल्यै पूरा हुनेछैन। तर हजुरले मेरो जीवनमा छोड्नुभएको हजुरको सत्कर्म र शुद्ध प्रेमभावको कथा कहिल्यै अधुरो हुनेछैन। अब हजुरको याद आउँदा म पूर्णिमाको पूर्ण चन्द्रमा हेर्दै हजुरको चन्द्रजस्तो मुहार र व्यवहार उही खोजिरहनेछु।
हामीलाई त पातालको यादहरूको बगैँचामा छोडेर जानुभयो, थाहा छैन बुबा हजुर अहिले स्वर्गको बगैँचाको कुन डालीडाली फूल बनी मुस्कुराउँदै हुनुहुन्छ। हजुरको आत्माले चिरशान्ति पाओस्। हजुर हाम्रो हृदयको धड्किने हर धड्कनमा धड्किरहनु हुनेछ!
भावपूर्ण श्रद्धाञ्जली बुबा! शोकसन्तप्त परिवारजनमा हृदयदेखि नै हार्दिक समवेदना।