बेत्रावतीको किनार पहिला जस्तो छैन
विकराल कुरूप खण्डहरमा परिणत भएको छ
खण्डहरमा परिणत बगरभित्र
धेरैको धेरै कुराहरू
पुरिएको छ।
हावा आज पनि उस्तै चल्छ
आकाशमा अलिकति बादल मडारियो कि
त्यहीँ दिनको झझल्कोले
मुटु फुट्ला झैँ हुन्छ।
बिस्तारै-बिस्तारै दैनिकी सहज र सरल बने पनि
मेरो उनी छैनन्
तर सम्झनाका चित्कारहरू
उनिलाई निलेको
टिम्मुरे र स्याप्रु छोपेको
हिउँ आँधीको छाल बनेर
मन मुटुलाई पटक-पटक
टुक्रा-टुक्रा बनाइदिन्छ।
विधाताको विधानमा लेखेको
धुमिल भाग्य रेखाको
समीक्षा गर्दै
तिम्रो पाइला पछ्याउँदै
तिमीसम्म आइपुग्ने गोरेटो खोजी हेरी
गोरेटो-गन्तव्य/चौतारीको डिल/खोला किनार
केही छैनन्
हो ‘प्रिय’
तिमीलाई बिर्सन नसक्ने
घाइते सम्झना बाहेक
अचेल एक्लै बोल्ने भएको छु।
कहिले बौलाएर आएको खोलासँग बोल्छु
कहिले तिमी र म भेट्ने
भग्नावशेष ठुटो मात्रै बाँकी रहेको
बर-पिपलको गाछीसँग बोल्छु।
त्यही नदी हो,
जहाँ तिमीले हाँस्दै भनेकी थियौ—
‘समय बग्छ रे,
तर म तिमीसँगै बसिरहन्छु।’
समय बग्यो कि समयसँगै मेरो
सबैथोक बग्यो?
जिन्दगीको भनौँ या त्रिशूली बगरको रणमैदानमा
म रनभुल्लमा छु।
तिमी पानी बनेर बग्दै गंगा पुग्न बग्यौ कि
लेदो बनेर धराको कोखमा पुर्यौ?
छैन अत्तोपत्तो-
न साथ भेटिन्छ
न तिम्रो पार्थिव शरीर भेटिन्छ।
कसरी स्विकारौँ म
यो अप्ठ्यारो परिवेशलाई-
थुप्रैको धेरै यसरी नै तिमी जसरी
आफ्नाहरूलाई दोधारमा पारेर
टाढा भएको छन्
कहिल्यै नभेट्ने कसम खाएर
नदीको कथा बनेर।
हिजो बेत्रावतीको पानी
धमिलो मात्रै होइन
तिब्बतको लेन्दे खोलाले लेदो बनाएको थियो
त्यो बेला मेरो तिमी मात्रै होइन
धेरैको धेरै हराएको थियो
सम्भावना सायद-
कहिल्यै नभेटेको भगवान् प्रकट भए पनि
केही गर्न सक्दैनन् थियो होला।
आज बिस्तारै बगर सुक्दै छ
खोला सङ्लिँदै छ
त्यही सङ्लो पानीको छालमा
तिम्रो अनुहार खोज्दै छु
खोलाको सुसाइमा
तिम्रो आवाज खोज्दै छु
हरेक साँझ
तिम्रो सम्झनालाई सिरानी बनाएर
आउन नमानेको निद्रा बोलाउँदै
सपनाहरूमा भेट्ने रहरको साथ
निदाउने प्रयत्न गर्दै छु।
खोजी कार्य-
सायद सम्बन्धित निकायले समापन गरेको छ
न तिमीलाई भेट्न सकियो
न तिमी जसरी बेपत्ता भएको धेरै अरूलाई
तिमी कहाँ बिलायौ?
नदीको गहिराइमा? समयको अँध्यारो मोडमा?
कि मेरो भाग्यले लेखेको
अधुरो प्रेमको कथामा?
मेरो मान्छे!
म त त्यहीँ छु—
बेत्रावतीको पुरानो किनारमा
मनमा तिम्रो सम्झना बोकेर
आँखामा अधुरो सपना साँचेर
तिमी फर्किने एउटा झिनो आशा कुरेर
नदी बगिरहन्छ/ऋतु फेरिन्छ
किनारका अडेका रूखहरू बूढा होलान्
अर्को बाढीले बगाएर लैजालान्
तर-
मेरो प्रेम
म त्यहीँ उभिएको छ
जहाँ तिमीले अन्तिम पटक
पछाडि फर्केर हेरेकी थियौ।
हो सारालाई थाहा छ
तिमी बेत्रावतीमा बिलायौ
तर मेरो मनले भने
तिमी कहिल्यै कतै बिलाइनौ
बरु मेरो मस्तिष्कले भने
तिमी नदीको
एउटा अकल्पनीय कथा भयौ
म कहिल्यै खोलालाई नछोड्ने
किनारा बनेर साथ दिइरहने छु।