कपाललाई हामी प्रायः सौन्दर्यसँग जोडेर हेर्छौं। यसको रङ, लम्बाइ र बनावटले व्यक्तित्वलाई फरक देखाउँछ।
तर कपालको महत्त्व यति मात्र होइन। यसको जरा, वृद्धि र झर्ने प्रक्रियाभित्र शरीरका अनेक जैविक रहस्य लुकेका छन्।
कपालले शरीरलाई संक्रमणबाट जोगाउन, स्पर्शको अनुभूति गराउन र स्वास्थ्यमा भइरहेका परिवर्तनका संकेत दिनसमेत भूमिका खेल्ने द न्यूयोर्क टाइम्सले लेखेको छ।
क्यालिफोर्निया विश्वविद्यालय, अर्भाइनका कोष जीवविज्ञानी म्याक्सिम प्लिकसका अनुसार मानिसको टाउकोमा करिब एक लाख कपालका जरा हुन्छन्। शरीरका अन्य भागमा पनि असंख्य कपाल (रौं) का जरा हुन्छन्।
प्रत्येक जरालाई कपाल उत्पादन गर्ने सानो कारखानाका रूपमा बुझ्न सकिन्छ। यहीँबाट कपाल उम्रिन्छ र त्यसलाई कालो, खैरो वा अन्य रङ दिने तत्त्व पनि उत्पादन हुन्छ।
कपाल मुख्यतः केराटिन नामक कडा प्रोटिनबाट बनेको हुन्छ। यही प्रोटिन नङमा पनि पाइन्छ। बाहिरबाट हेर्दा निर्जीव देखिए पनि कपालको जरा शरीरका विभिन्न जैविक प्रक्रियासँग जोडिएको हुन्छ।
कपालका जरामा ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सुक्ष्मजीव बस्छन्। यीमध्ये धेरै सुक्ष्मजीव उपयोगी हुने मायामी विश्वविद्यालयका छालारोग विशेषज्ञ राल्फ पाउस बताउँछन्।
'तिनले हानिकारक जीवाणुलाई फैलिन नदिई संक्रमणको जोखिम कम गर्न मद्दत गर्छन्,' उनले भनेका छन्।
यी सुक्ष्मजीवले कपालको वृद्धि र रङमा समेत प्रभाव पार्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
छालामा चोट लाग्दा पनि कपालका जराले भूमिका खेल्छन्। जराभित्र रहेका विशेष कोषहरू चोट लागेको ठाउँतर्फ सरेर नयाँ छाला बनाउन सहयोग गर्छन्। घाउ निको भएपछि ती कोष पुनः कपाल उत्पादन गर्ने काममा फर्किन्छन्।
त्यस्तै कपालका जरावरिपरि स्नायुहरू हुन्छन्। तिनले हल्का हावा चल्दा वा कुनै वस्तुले कपाल छुँदासमेत मस्तिष्कलाई संकेत पठाउँछन्। त्यसैले आँखाको परेलानजिक कीरा वा अन्य वस्तु आउँदा त्यसको हलचल महसुस भएर आँखा झिम्किने प्रतिक्रिया हुन सक्छ।
कपाल र छालासँग जोडिएका स्नायुहरूले मस्तिष्कको भावनासँग सम्बन्धित भागमा पनि संकेत पठाउँछन्। त्यसैले कसैले बिस्तारै कपाल सुम्सुम्याउँदा आनन्द महसुस हुन सक्छ।
तर जरैदेखि कपाल उखेल्दा दुख्छ। कपाल काट्दा भने छालामाथिको भाग मात्रै काटिने भएकाले दुख्दैन।
कपालका जरामा गन्ध र तीतो स्वाद पहिचान गर्ने विशेष संरचना (रिसेप्टर) समेत पाइन्छन्। यी संरचनाले कपालको वृद्धिलाई प्रभावित गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ।
प्रारम्भिक अनुसन्धानमा केही सुगन्धले कपालको वृद्धि बढाउन सक्ने र अन्य केहीले त्यसलाई कम गर्न सक्ने संकेत भेटिएका छालारोग विशेषज्ञ राल्फ पाउसले बताएका छन्।
तर यसबारे पर्याप्त प्रमाण जुटिसकेको छैन। त्यसैले कुनै विशेष सुगन्धले कपाल बढाउँछ भन्ने निष्कर्षमा पुग्न अहिले नै मिल्दैन।
कपाल निश्चित चक्र अनुसार बढ्छ। यो निरन्तर बढिरहँदैन। बढ्ने, वृद्धि रोकिने, आराम गर्ने र झर्ने चरणबाट गुज्रिन्छ। मस्तिष्कमा हुने जैविक घडीजस्तै कपालका जरामा पनि समय अनुसार काम गर्ने प्रणाली हुन्छ।
जोन्स हप्किन्स मेडिसिनका छालारोग विशेषज्ञ लुइस गार्जाका अनुसार यही जैविक घडीले कपालको वृद्धि चक्रलाई नियमन गर्न मद्दत गर्छ। कपाल बिहानभन्दा बेलुका छिटो बढ्ने सम्भावना पनि यसैसँग जोडिएको छ।
त्यसैले राति दाह्री खौरिए पनि वा भोलिपल्ट बिहान खौरिए पनि त्यसले खासै फरक पार्दैन।
भविष्यमा कपालका केही नमूना परीक्षण गरेर निद्रा सम्बन्धी केही समस्याबारे जानकारी लिन सकिने वैज्ञानिकहरूको विश्वास छ। कपालका जरामा रहेका समय नियमन गर्ने जीन शरीरको २४ घण्टे जैविक घडीसँग तालमेलमा रहने भएकाले यस्तो परीक्षण सम्भव हुन सक्ने उनीहरूको भनाइ छ।
तर यसलाई नियमित चिकित्सकीय परीक्षणका रूपमा प्रयोग गर्न थप अनुसन्धान आवश्यक छ।
कपालले शरीरको स्वास्थ्यबारे के भन्छ?
कपाल शरीरमा छिटो बढ्ने तन्तुमध्ये एक हो। बोन म्यारोपछि कपाललाई तीव्र गतिमा बढ्ने तन्तु मानिन्छ। यसको वृद्धिका क्रममा शरीरमा प्रवेश गरेका केही पदार्थ पनि कपालमा जम्मा हुन सक्छन्।
एक सेन्टिमिटर कपालले करिब एक महिनाको जैविक अवस्था सम्बन्धी जानकारी समेट्न सक्ने मायामी विश्वविद्यालयका छालारोग विशेषज्ञ एन्टोनेला टोस्ती बताउँछिन्।
त्यसैले कपाल परीक्षणबाट लागुऔषधको प्रयोग, विषाक्त पदार्थको सम्पर्क र लामो समयको तनावबारे जानकारी पाउन सकिन्छ।
कपाल अस्वाभाविक रूपमा झर्नु पनि शरीरमा केही गडबडी भएको संकेत हुन सक्छ। पोषक तत्त्वको कमी, थाइराइड सम्बन्धी समस्या, उच्च ज्वरो, अचानक तौल घट्दा, बच्चा जन्माउँदा वा ठूलो शल्यक्रियापछि कपाल झर्न सक्छ।
कोलम्बिया विश्वविद्यालयकी आणविक आनुवंशिकीविद एन्जेला क्रिस्टियानोका अनुसार शरीरमा रोग वा अत्यधिक तनाव पर्दा ऊर्जा र पोषक तत्त्व अन्य महत्त्वपूर्ण काममा लगाउन कपालको वृद्धिजस्ता प्रक्रियामा कमी आउन सक्छ।
यस्तो अवस्थामा धेरैजसो कपाल तीनदेखि ६ महिनाभित्र पुनः उम्रिन सक्छ। यद्यपि कपाल झर्ने कारण र व्यक्तिको स्वास्थ्य अनुसार यो समय फरक पर्न सक्छ।
सामान्य अवस्थामा पनि दैनिक ५० देखि १०० वटासम्म कपाल झर्नु स्वाभाविक हो। उमेर बढ्दै जाँदा कपालको रङ, मोटाइ र बनावटमा परिवर्तन आउँछ।
महिलाको कपालमा हुने परिवर्तन भने हर्मोनसँग सम्बन्धित पनि हुन सक्छ। विशेषगरी एस्ट्रोजेन र एन्ड्रोजनजस्ता हर्मोनले कपालको वृद्धि, मोटाइ र झर्ने प्रक्रियामा प्रभाव पार्छन्।
गर्भावस्था, प्रसूति र रजोनिवृत्तिका बेला हर्मोनको स्तर परिवर्तन हुँदा कपालको बनावट वा घनत्वमा पनि परिवर्तन देखिन सक्छ।
कपाल र शरीरमा हुने रौंको वितरणले हर्मोन सम्बन्धी अवस्थाबारे केही संकेत दिन सक्छ।
उदाहरणका लागि, महिलाको अनुहार वा शरीरमा असामान्य रूपमा बाक्लो रौं बढ्नु कहिलेकाहीँ एन्ड्रोजन हर्मोन बढी भएको संकेत हुन सक्छ। यस्तो परिवर्तन पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) जस्ता अवस्थासँग सम्बन्धित हुन सक्छ।
तर कपालको बनावट वा घनत्व हेरेर मात्रै महिलाको प्रजनन क्षमता, महिनावारी चक्र वा गर्भधारणको सम्भावना ठम्याउन सकिँदैन। त्यसका लागि आवश्यक परे चिकित्सकीय परीक्षण गर्नुपर्छ।
यसरी हेर्दा कपाल शरीरको बाहिरी आवरण मात्रै होइन। यसले सुरक्षा दिन्छ, स्पर्शको अनुभूति गराउँछ र शरीरको भित्री अवस्थाबारे संकेतसमेत दिन्छ। हामीले दिनहुँ देख्ने कपालभित्र प्रकृतिको जटिल जैविक प्रणाली लुकेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)