प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरूलाई कडा निर्देशन दिएका छन्।
पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।
बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरूलाई सभापति देउवाले निर्देशन दिएका पार्टीका राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरूले फरक मत राखी अघि बढ्न दिएका छैनन्।
सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरूलाई सचेत पनि गराए।
वैवाहिक अंगीकृत नागरिकतामा नेपाली पुरूषसँग बिहे भएर आएका विदेशी महिलालाई ७ वर्षमा नागरिकता दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
कांग्रेसले २०६३ कै कानुनअनुसार बिहे गरेर आएको भोलिपल्ट नागरिकता दिनुपर्ने मत राख्दै आएको छ भने नेकपाका अधिकांश सांसदले ७ वर्षपछि नागरिकता दिने र त्यसबीचमा वैवाहिक परिचय पत्र दिनु पर्ने मत राख्दै आएका छन्।
बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए।