सहिद परिवारको कथा
भदौ २३ गते दिउँसो साढे १ बजेको थियो।
अभिषेक श्रेष्ठ आफूले भर्खर जागिर छाडेको कम्पनीमा हिसाबकिताब गर्न घरबाट निस्किए।
सुनसरीको इनरूवा नगरपालिका–६ का उनी इटहरी चोकको एक बर्गर हाउसमा काम गर्थे। उनले त्यहाँ काम थालेको तीन–चार वर्ष भइसकेको थियो। त्यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) को भिसा आएपछि केही दिनअघि मात्र उनले जागिर छाडेका थिए। तर हिसाबकिताब बाँकी थियो।
अभिषेक घरबाट निस्किएपछि उनका भाइ समीर साथीहरूसँग आन्दोलन हेर्न निस्किए। आन्दोलन हिंसात्मक हुँदै गएपछि उनी केही बेरमै घर फर्किए।
आन्दोलनमा गएका समीर घर फर्किसकेका थिए, तर आफू काम गर्ने ठाउँमा पैसा उठाउन गएका अभिषेक भने साँझ ५–६ बजेसम्म फर्किएनन्।
अरू दिन पनि उनी ढिलै फर्किने भएकाले परिवारका सदस्यहरूले खासै सुर्ता मानेनन्।
साँझ ६ बजेतिर समीरको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो।
उनले फोन उठाए।
'हजुर अभिषेकको आफन्त हो?' उताबाट आवाज आयो।
समीरले 'हो' भनेपछि ती व्यक्तिले भने, 'उहाँलाई दुर्घटना परेर बिपी अस्पातल ल्याइएको छ। हजुर तत्काल आउनुहोला।'
अपरिचित व्यक्तिबाट यस्तो खबर सुन्नेबित्तिकै समीर तुरून्तै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे।
'दाइ सामान्य घाइते हुनुभएको होला भनेर परिवारमा कसैलाई थाहा दिएको थिइनँ,' समीरले भने, 'अस्पताल पुगेर दाइको अवस्था हेरेपछि आमालाई खबर गरूँला भन्ने मेरो सोच थियो।'
उनी अस्पताल पुग्दा साँझ ७ बज्न आँटेको थियो। उनले अभिषेकको नाम लिँदै सोधपुछ गरे।
बिपी अस्पतालका एक डाक्टरले समीरलाई एउटा कोठामा लिएर गए।
यसरी छुट्टै कोठामा लिएर जाँदा उनलाई आफ्ना दाजु गम्भीर घाइते रहेछन् कि भन्ने शंका लाग्यो।
त्यो कोठामा पुगेपछि समीरले देखे — त्यहाँ एउटा व्यक्तिलाई सेतो कपडाले अनुहार ढाकेर राखिएको थियो।
सँगै गएका डाक्टरले सेतो कपडा हटाउँदै भने, 'उहाँलाई बचाउन सकिएन।'
डाक्टरले जसै कपडा हटाए, समीरको अगाडि उनका दाजु अभिषेकको शव थियो।
दाजुको यस्तो अवस्था देखेर १९ वर्षीय समीर एकछिन त केही बोल्नै सकेनन्। आसपास उभिएका अन्य चिकित्सकले उनलाई सम्हाले।
दस–पन्ध्र मिनेटपछि उनले कतारमा रहेका बुबा झबरबहादुर श्रेष्ठलाई फोन गरे।
'आमा यसै पनि बिरामी हुनुहुन्थ्यो। उहाँलाई फोन गर्न सकिनँ। त्यसैले बुबा र दिदी (सबिना) लाई फोन गरेँ,' उनले भने, 'त्यसपछि आफन्तहरूलाई फोन गरेर घरमा पठाएँ। उनीहरूले नै आमालाई अस्पताल लिएर आए।'
छोराको शव देखेर आमा त बेहोस नै भइन्। समीरले पनि आफूलाई सम्हाल्न सकेनन्। अस्पतालमा रूवाबासी नै चल्यो।
यो घटना भएको करिब एक सातापछि अभिषेकका बुबा कतारबाट फर्के। उनी तीन–चार महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि कतार गएका थिए। काम सुरू गर्नासाथ नेपाल फर्किन छुट्टी नपाएपछि जागिर नै छाडेर आउनुपरेको समीर बताउँछन्।
'घरपरिवारको खुसीका लागि बुबा जागिर नै छाडेर फर्किनुभयो,' उनले भने, 'कतार जाँदा लिएको ऋण पनि तिर्न बाँकी थियो।'
उनका अनुसार अभिषेकको पनि भदौ अन्तिममा युएई जाने टुंगो भइसकेको थियो। उनी होटलमा काम गर्न युएई जान लागेका थिए। भिसा पनि आइसकेको थियो। टिकटका लागि भदौ २५ गते काठमाडौं जाने तयारीमा थिए।
'बुबा कतार गइसक्नुभएको थियो, दाइ पनि युएई गएपछि परिवारको आर्थिक अवस्था सुध्रेला भन्ने आस संगालेर बसेका थियौं,' समीरले भने, 'एकै पलमा सबै खत्तम भयो।'
अभिषेकलाई घर फर्किँदै गर्दा गोली लागेको भनिएको छ। तर कहाँ, कसरी गोली लाग्यो भन्ने अझै प्रस्ट नभएको समीर बताउँछन्।
'नाक नजिकै गोली लागेर टाउको वारपार भएको थियो। त्यही भएर बचाउन नसकेको चिकित्सकहरूले बताएका छन्,' उनले भने।
२३ वर्षीय अभिषेक घरका जेठा छोरा थिए। इटहरी उपमहानगरपालिका–१६ स्थित मामाघरमा बसेर पढेका उनले चार–पाँच वर्षअघि एसइई पास गरेका थिए। त्यसपछि कलेज भर्ना भए पनि नियमित कक्षामा गएनन्। पढाइभन्दा बढी कमाउनतिरै लागेको समीर बताउँछन्।
उनका अनुसार अभिषेकले आफू विदेश गएर कमाउन थालेपछि कतार गएका बुबालाई नेपाल फर्काउने सोच बनाएका थिए।
'जेनजी आन्दोलनले दाइ नै नरहेपछि घरव्यवहार चलाउन म आफै विदेश जानुपर्ला भन्ने लागेको थियो,' उनले भने, 'तर सरकारले सहिद परिवारलाई रोजगारी दिने भनेपछि सबैले नजान भनिरहेका छन्।'
सरकारले रोजगारी दिने भनेको ६ महिना बितिसक्दा पनि प्रक्रिया सुरू नभएकोमा उनले गुनासो पनि गरे।
'सरकारले काम दिएको छैन, काम नभई यहाँ बसिरहन सकिँदैन,' उनले भने।
समीरले प्लस–टू सकिसकेका छन्। थप अध्ययन गर्नेभन्दा पारिवारिक जिम्मेवारी सम्हाल्न विदेश जाने उनको सोच छ। सरकारले सहिद परिवारका नाममा जागिर दियो भने स्वदेशमै बस्न सकिने उनी बताउँछन्।
'आस मात्र देखाएर हुँदैन, काम पनि दिनुपर्यो,' उनले भने, 'एक–दुई ठाउँमा कुरा भइरहेको छ, जागिर फिक्स भने भइसकेको छैन।'
अभिषेकको परिवारले इटहरी चोकमा उनको सालिक बनाउने माग पनि गरेको छ।
***