काठमाडौं जिल्ला अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी गरेको छ।
२०७६ वैशाख २९ गते उनी विरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दायर भएको थियो। उनी विरूद्ध मुद्दा दायर भएपनि उनी फरार रहेकाले अदालतले असोज ८ गते पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
अदालतले जारी गरेको म्याद सहितको पक्राउ पूर्जी असोज ८ गते गुरूङले बुझेका छन्। असोज ८ देखि ३५ दिनभित्र हाजिर हुन नसके उनले अदालतमा आफ्नो बचाउ गर्न पाउने छैनन्। प्रहरीले पनि उनलाई पक्राउ गर्न सक्नेछ।
२०७४ को वैशाखमा आफूमाथि सांसद गुरुङको निर्देशन र योजनामा आक्रमण भएको उल्लेख गर्दै वीरध्वज खड्काले प्रहरीमा जाहेरी दिएका थिए। घटनाको झण्डै २ वर्षपछि उनको जाहेरीमाथि अनुसन्धान गरि उनी विरूद्ध मुद्दा दायर गरेको देखिन्छ।
नेकपाका सांसद गुरङले आफूलाई अदालतको ३५ दिने पुर्जी प्राप्त भएको बताए।
'दोलखामा कुलबहादुर तामाङको तत्कालिन माओवादीले हत्या गरेपछि माओवादीका सबै नेता विरुद्ध किटानी जाहेरी परेको थियो। त्यसपछि मेरा विरुद्ध पनि प्रतिशोधमा काठमाडौंमा उजुरी परेको थियो', गुरुङले सेतोपाटीसँग भने, 'त्यतिबेला कांग्रेस र माओवादीको सरकार थियो। प्रतिशोधमा मेरो निर्देशनमा आक्रमण गरियो भनेर उजुरी परेको थियो।’
सांसद गुरुङले वीरध्वज खड्का भन्ने व्यक्ति फरार अभियुक्त भएको दावी गरे। तमाङ हत्याको घटनामा तत्कालिन माओवादी कार्यकर्ता वीरध्वज विरुद्ध दोलखा जिल्ला अदालतमा मुद्दा विचाराधिन छ। तत्कालिन माओवादी नेताहरु विशाल खड्का, देवी खड्कासँगै वीरध्वज सहित ३९ जना विरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।
वीरध्वजलाई तमाङ हत्याको घटनामा संलग्न रहेको भन्दै त्यतिबेला एमाले कार्यकर्ताहरुले कुटपिट गरि प्रहरीमा बुझाएका थिए। पछि खड्काले नै आफूलाई पार्वत गुरुङ र उर्मिला थामीको निर्देशनमा ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै उजुरी दिएका थिए । उर्मिला अहिले जुगु गाउँपालिकामा उपाध्यक्ष छिन्।
'मेरा विरुद्ध प्रहरीमा उजुरी दिँदा सांसद नभनि एक नागरिकको रुपमा उजुरी गरियो', गुरुङले सेतोपाटीसँग टेलिफोनमा भने, 'मेरो निर्देशनमा कुटपिट गरियो भनेर उजुरी परेको रहेछ।’