संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा पिटेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन सुरू गरेको छ।
सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालका अनुसार आजैदेखि सरकारी वकिल समक्ष प्रहरीले उनको बयान लिन सुरू गरेको हो।
'उहाँको बयान सुरू भएको छ,' सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले उनले भने।
प्रहरीले लिने बयान सरकारी वकिल समक्ष लिनुपर्छ।
महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले उनी पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिनको समय दिएको थियो। उक्त समय आज सकिँदै छ।
यसअघि स्वास्थ्यको कारण देखाउँदै महराले बयान दिन आनाकानी गरेका थिए।
आज बयानपछि उनीमाथि अनुसन्धान गर्ने म्याद थप्न सकिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। म्याद थप्न फेरि अदालत लैजानुपर्छ।
असोज १२ गते राति आफ्नो काठमाडौं तीनकुनेस्थित डेरामा आएर महराले बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै प्रहरीमा उजुर गरेकी थिइन्।
त्यसको भोलिपल्ट यो घटना मिडियामा सार्वजनिक भएको थियो। त्यसपछि नेपाल कम्युनिष्ट पार्टीले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको थियो। महराले भने सभामुखबाट मात्रै राजीनामा दिएका छन्। उनले राजीनामा दिएपछि रोशनीले प्रहरीमा आएर किटानी जाहेरी नै दिइन्।
जाहेरी परेपछि प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको हो। बीचमा दसैं बिदा परेकाले महरालाई अदालतबाट म्याद थप गराउनै ९ दिन लागेको थियो। पक्राउ परेको ४ दिनपछि स्वास्थ्य गम्भीर भएको भन्दै महरालाई थापाथलिस्थित नर्भिक अस्पतालमा राखिएको थियो।
अस्पतालबाटै उनी असोज २८ गते म्याद थपका लागि अदालत गएका थिए। त्यसपछि फर्केर अस्पतालमै आएका थिए।
उनलाई उच्च रक्तचाप, अनिद्रा र तनाव भएको अस्पतालले जनाएको थियो।