प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठनबारे गृहकार्य थालेका छन्।
आइतबार साँझ बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा पनि केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेको उनले बताएका थिए। उनले सबै मन्त्रीलाई फेर्न लागेको नभई राम्रो ‘परफरमेन्स’ नभएका केहीलाई मात्रै हटाउन लागेको बताएको सचिवालयका एक सदस्यले बताए।
‘साह्रै कमजोर परफरमेन्स भएकालाई फेर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सदस्यले सेतोपाटीसँग भने।
मन्त्रीमण्डल पुनर्गठनबारे केही दिनदेखि शीर्ष तहमा छलफल गरे पनि अहिलेसम्म टुंगो नलागेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
‘छलफल अझै नसकिएकाले भोलीनै मन्त्रीमण्डलमा फेरबदल हुने टुंगो छैन,’ उनले भने, ‘सोमबार दिउँसो प्रचण्डसँग छलफल गरेपछि मात्र अन्तिम टुंगो लाग्छ।'
सचिवालयको बैठक सकिएपछि आइतबार साँझ प्रधानमन्त्री ओलीले आफू निकटहरूसँग छलफल गरेका थिए।
सोमबार बिहान प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको सिंहदबारबाटै उद्घाटन गर्दैछन्। परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने सोमबार नुवाकोटको किसपाङ गाउँपालिका पुग्नेछन्। सो परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो।
सो उद्घाटन सकिएपछि प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनबारे प्रचण्ड र आफूनिकट नेताहरूसँग छलफल गर्नेछन्।