प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमण प्रवेश नगरेको दाबी गरेका छन्।
शनिबार सरकार बनेको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबाट कोही पनि नेपाली संक्रमित नभएको दाबी गरे।
छिमेकी चीनमा कोरोनाभाइरस पैदा भएको र यसले नेपाललाई प्रत्यक्ष असर गर्ने भन्दै उनले यसको संक्रमण फैलिन नदिन सरकारको ध्यान केन्द्रित हुने बताए।
उनले चीनमा रहेका नेपाली विद्यार्थीलाई लिन जहाज आजै वुहान प्रस्थान गर्ने जनाए।
साथै चीनबाट ल्याइने विद्यार्थीको उचित प्रबन्ध गर्न सरकारले गम्भीरतापूर्वक ध्यान दिने बताए।
प्रधानमन्त्री ओलीले आफ्ना नागरिकको राम्रो हेरविचार गरेको भन्दै चीन सरकारलाई धन्यवाद दिए। यद्यपी यसअघि चीनबाट नेपाल आएका एक जना नेपालीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।
सो व्यक्तिको नमूना जाँच गर्न हङकङ पठाइएकोमा कोरोनाभाइरस पुष्टि भएको थियो। तर उक्त व्यक्ति अहिले पूर्ण ठीक भएर सामान्य जीवनमा फर्किसकेको चिकित्सकहरूले बताएका छन्।