नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन काण्डमा मुछिएर राजीनामा दिएका तत्कालीन मन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रवक्ता नबन्न सुझाव दिएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्- पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ `अडियो´ को प्राविधिक परीक्षणसम्म यहाँले नै?
यसअघि बिहीबार प्रधानमन्त्री ओलीले बाँस्कोटाको बचाउ गरेका थिए।
राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताए।
‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’
बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्।
प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे।
‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’
उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए।
‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने।