जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ। सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिए। निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने सुवेदीले बताए।
यस्तै मंगलबार लकडाउन अवज्ञा गर्ने ४४ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुर्वी पाल्पाको रामपुरमा आफुखुसी चलाइएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय रामपुरले बिहानदेखि ४१ मोटरसाइकल, २ ट्याक्टर र १ एम्वुलेन्स नियन्त्रणमा लिइएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधन ईलाका प्रहरी कार्यालय रामपुर परिसरमा राखिएको छ।
एम्वुलेन्सको दुरुपयोग गरी नवलपरासीबाट स्याङ्जा यात्रु जाँदै गरेकाले प्रहरीले नियन्त्रणमा लिएको हो। अत्यावश्यक काम तथा सेवाको लागि सवारी साधन संचालनको लागि जिल्ला प्रशासन कार्यालयले सवारी पास प्रदान गर्दै आएको छ।
पास नभएका जुनसुकै सवारी साधन पनि नियन्त्रणमा लिइने र कोरोना भाइरस संक्रमण सचेतनाको लागि प्रयोगमा ल्याइने प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए।