गृहमन्त्री रामबहादुर थापाले एकै पटक मुलुकले चार वटा संकट ब्यहोर्नुपरेकाले चुनौति थपिएको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा सामाजिक जीवनमा परेको संकट र मनसुन छिटो हुँदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नुपर्ने अवस्था रहेको उनले बताए।
गृहमन्त्री थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन्।
उनले घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत सम्बद्ध पक्षलाई निर्देशन दिए।
गृहमन्त्री थापाले जेठदेखि नै मनसुन सुरु भएको र भदौसम्म रहने भएकाले यसबाट उत्पन्न हुने संकटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरु अपनाउनुपर्नेमा जोड दिए। मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै उनले संभावित संकटको आँकलन गरिएको बताए।
जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आइ धनजनको क्षति ल्याउने सम्भावनाहरु प्रवल देखिएको उनले बताए।
‘यो वर्ष मनसुनले ठूलै संकट ल्याउने सम्भावना को हामीले आँकलन गरिराखेका छौं। विज्ञहरुको भनाइअनुसार मनसुनले यो जेठ महिनामा नै यहाँको धरातललाई धेरै भिजाई सकेको छ’ उनले भने ‘आगामी दिनमा ठूलो वर्षा हुने पनि देखिन्छ। बाढी पहिरो आउने र त्यसले जनधनको क्षति ल्याउन सक्ने सम्भावनाहरु प्रवल देखिएको छ। यो संकटलाई कसरी सामना गर्ने र जनताको जीउधनको कसरी रक्षा गर्ने भन्ने चुनौति हाम्रो अगाडि खडा भएको छ।’