नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताएका हुन्।
उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए।
'हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन । एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प छैन,' उनले भने।
आफू पनि ३० वर्ष जापान बसेर त्यहाँको पद्धति र सीप सिकेर नेपाल फर्की व्यवसाय गरिरहेको उदाहरण दिँदै उहाँले दक्षिण कोरिया र जापानको सफलताबाट नेपालले सिक्नुपर्नेमा उनले जोड दिए।
लगानीको वातावरण बनाउन सरकारले कानूनहरूमा द्रुत रूपमा सुधार गर्नुपर्नेमा उनको जोड छ।
जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन तबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसक्ने ढकालको दाबी छ ।