युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ।
सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडिओसँगै एआईबाट बनाइएको भिडिओ सार्वजनिक गरी भ्रम फैलाएको आरोपमा शुक्रबार १० जना विदेशी नागरिक पक्राउ परेका थिए।
त्यसमध्येमा एक जना नेपालका नागरिक पनि रहेको भनेर गल्फ न्युजले लेखेको छ।
प्रहरीले पक्राउ पर्नेहरूको आँखाको भाग छोपिएको तस्बिर सार्वजनिक गरेको छ। कुन देशका हुन् भनेर खुलाइएको भए पनि पूरा नाम भने सार्वजनिक गरेको छैन।
पक्राउ पर्नेहरूमा इरान, पाकिस्तान, भियतनाम, फिलिपिन्स, इजिप्ट, नेपाल, क्यामरुन, भारत र बंगलादेशका छन्।
उनीहरूले केही इरानी हमला र त्यसलाई युएईका प्रतिरक्षा प्रणालीले नष्ट गरिरहेको वास्तविक तस्बिर भिडिओमा एआईबाट नक्कली दृश्य जोडेर बनाइएको भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
प्रकाशित भिडिओहरूमा यूएईका विभिन्न स्थानमा विस्फोट, आगलागी तथा सुरक्षा संकट भएको जस्तो भ्रामक दृश्य देखाइएको बताइएको छ। यस्ता सामग्रीले सार्वजनिक सुरक्षा र सामाजिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनीहरूविरुद्ध कारबाही गरिएको जनाइएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका बीच यूएई सरकारले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र अफवाह रोक्न निगरानी कडा बनाएको बताइएको छ। साथै, यस्ता सामग्री उत्पादन वा प्रसारण गर्नेलाई कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।
त्यसबाहेक अलग्गै कारबाहीमा विभिन्न देशका ४५ जनालाई पनि पक्राउ गरिएको बिबिसीले जनाएको छ। उनीहरूमाथि पनि आक्रमणको भिडिओ खिचेर भ्रामक सूचना फैलाइएको आरोप छ।
पक्राउ पर्ने ती ४५ जना भने कुन कुन देशका हुन् भनेर खुलाइएको छैन।
यसरी नै फोटो भिडिओ सार्वजनिक गर्दा गत हप्ता दुबईमा ६० वर्षीय वेलायती नागरिक पक्राउ परेका थिए।
उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनले दुबईमाथि उडिरहेको इरानी मिसाइलको भिडिओ खिचेका थिए।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युएईमा साइबर अपराधसम्बन्धी कसुरमा कम्तिमा दुई वर्ष जेल सजाय र २ लाख युएई दिराम जरिवाना हुन सक्नेछ।
अमेरिका-इरान युद्ध सुरू भएयता इरानले युएईमा १८०० भन्दा ड्रोन र मिसाइल प्रहार गरेको छ।
तीमध्ये धेरै मिसाइल र ड्रोन युएईको प्रतिरक्षा प्रणालीले नष्ट पारेको छ। युएईमा अहिलेसम्म एक नेपालीसहित ६ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।