मधेस आन्दोलनको समयमा सहादत प्राप्त गरेका सहिदहरूको स्मरणमा मनाइने बलिदानी दिवस सोमबा सत्तापक्ष र आन्दोलनको अगुवाइ गरेका युवाहरूले छुट्टाछुट्टै मनाएका छन्।
‘स्वायत्त मधेस एक प्रदेश’ र अधिकार प्राप्तिका लागि १४ वर्ष अगाडि मधेसी जनता तथा मधेसवादी दलहरूले आन्दोलन गरेका थिए।
प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाइन थालेको हो। यस वर्ष पनि प्रदेश सरकारले जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ।
एकातर्फ प्रदेश सरकारले जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा बलिदानी दिवस मनाएको छ भने अर्कोतर्फ मधेस आन्दोलनको अगुवाइ गरेका युवाहरूले जनकपुरको जनक चोकस्थित सडकमै बलिदानी दिवस मनाए।
प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसमा सहिद परिवारका सदस्यहरू, जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरू जितेन्द्र सोनल, नवलकिशोर साह, रामनरेश राय लगायतको सहभागिता थियो। कार्यक्रमको अध्यक्षता पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोकी आमाले गरेकी थिइन्।
बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश दुईको सरकारलाई सहिद परिवारसँग गरिएको बचन पूरा गर्न आग्रह गरे।
सहिदहरूकै बलमा जनताले संघीयता तथा प्रदेश सरकार पाएको भन्दै ती सहिद परिवारका सदस्यहरूसँग गरिएको बचनवद्धता पूरा गर्न ढिलाइ गर्न नहुने बताउँदै उनले भने, ‘आन्दोलन सफल भएलगत्तै हामीले सहिद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौं, त्यो अहिलेसम्म हुन सकेको छैन। ५० लाख होइन भने सो बराबर कमसे कम सहिद परिवारलाई सहयोग प्रदेश सरकारले गर्नुपर्छ।’
कार्यक्रममा उनले प्रदेश सरकारको विभिन्न मन्त्रालयमा हुँदै आएको भ्रष्टाचारको विषयमा आउने समाचारतर्फ इंगित गर्दै सरकारको ध्यानाकर्षण समेत गराए।
‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लागिरहेको हुन्छ, यसलाई निर्मूल गर्नुपर्छ, हामीलाई प्रदेश सरकारलाई नमूना सरकारको रुपमा प्रस्तुत गर्नुछ,’ उनले भने।
प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा ८ वटै जिल्लाका सहिद परिवारका सदस्यहरुको सहभागिता थियो।
कार्यक्रममा सहभागी सदस्यहरूलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी ६० सहिद परिवारका सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि महतोले दोसल्ला ओढाएर २५ हजार रुपैयाँसहित सम्मान गरेका थिए।
प्रदेश सरकारले ती सहिद परिवारका सदस्यहरूलाई आर्थिक सहयोग गरेवापत हस्ताक्षरसमेत गराइएको छ।
हस्ताक्षर गराइएको कागजमा रकम उल्लेख नरहेको पाइएको छ। यता प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा जनकपुरधाममा कार्यक्रम गरिरहँदा मधेस आन्दोलनका विगुल फुकेका विद्रोही युवाहरूको एक समूहले छुट्टै कार्यक्रम गरी बलिदान दिवस मनाएका छन्।
सोमबार जनकपुरको जनक चोकमा मधेस जनविद्रोह २०६३ को आयोजनामा भएको १५ औं बलिदान दिवसको अवसरमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालका सत्तासिन मुख्यमन्त्री लालबाबु राउत, विभिन्न मन्त्रीदेखि जसपाका मुख्य नेताहरूको समेत कडा आलोचना ती युवाहरूले गरेका छन्।
उनीहरूले अधिकार र पहिचानका लागि मधेस आन्दोलनको अगुवाइ गर्ने युवाहरू अचेल ओझेलमा परेको, प्रदेश सरकार जनताको नभई व्यक्तिवादी, नातावादी, कृपावादी र दलाल व्यवसायी रहेको आरोप लगाएका छन्। उनीहरूले प्रदेश सरकारले अझै पनि अन्तिम आन्दोलन बाँकी नै रहेको भन्नु सत्तामा पुग्नका लागि जनतालाई भ्रमित पार्ने खेल मात्र रहेको आरोप समेत लगाए।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोजकुमार मिश्रले सत्ता र सरकारमा जानका लागि मरिहत्ते गरी जनताको छोराछोरीलाई मधेसको अधिकारको नाम भजाएर आन्दोलनको उपलब्धीलाई नै बेचेको आरोप लगाए।
अर्का नेता सुशील कर्णले सहिद, जनता र धार्मिक आस्थामाथि खेलवाड गरी प्रदेश सरकारले आफ्नो व्यवसाय चलाएको आरोप लगाए। उनले प्रदेशको विकासको नाममा अहिले प्रदेश सरकारले धार्मिक अतिक्रमण गर्ने कार्यमा लागिपरेको बताए।
नेता दीपककुमार झाले मधेस आन्दोलनको बेला आन्दोलनको विरोध गर्नेहरू नै अहिले सरकारमा रहेको बताउँदै भने, ‘पञ्चायत सरकारको समयमा राजाको पक्षमा बोल्नेहरू नै अहिले ठूलो गणतन्त्रवादी र संघीयताका पक्षधर बनेका छन्।’