नेपाली कांग्रेसले हरेक नागरिकलाई कोरोनाविरूद्ध खोप दिन सरकारसँग माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पार्नसमेत सरकारसँग माग गरेको छ।
जनताको जीवन रक्षका लागि छिटो विशेष कार्ययोजना बनाउनुपर्ने माग कांग्रेसको छ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै नागरिकलाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरिएको बताएका छन्।
‘बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ,’ उनले भने।
कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेकोले हरेक नागरिकलाई खोप दिइनुपर्ने कांग्रेसको भनाइ छ।
‘विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र द्रुत अभियान संचालन गर्न बैठकले सरकारसमक्ष जोडदार माग गर्दछ,’ बैठकले गरेको निर्णयमा भनिएको छ।