नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दल र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्।
जेनजी मुभमेन्टसँग आबद्ध युवाहरू तथा विभिन्न नागरिक समूहसँग भएका छलफलका अनुभव साझा गर्दै थापाले इतिहासले पनि चुनावअघि सहमतिको आवश्यकता पुष्टि गरिसकेको दाबी गरेका हुन्।–
समूहमा तथा वान–टू–वान भएका भेटघाटका क्रममा जेनजी मुभमेन्टमा काम गरेका साथीहरूसँग यस्ता विषय उठाएको बताउँदै थापाले केही समयअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत सो मुभमेन्टसँग आबद्ध युवाहरू सहभागी रहेको स्मरण गरे।
'त्यस्ता बैठकका अनुभव र त्यहाँ उठेका विषयहरूलाई मैले नयाँ पार्टी र पुराना पार्टीका सबै साथीहरूसँग साझा गर्दै आएको छु,' थापाले भने।
उनका अनुसार २०६२–६३ को जनआन्दोलनअघि पनि नेपाल ठ्याक्कै यस्तै राजनीतिक अवस्थाबाट गुज्रिएको थियो।
त्यस बेला संसद पुनः स्थापनाको मागसहित सडक आन्दोलन भइरहे पनि अन्ततः राजनीतिक दलहरूबीच समझदारी बनेको र सोही समझदारीकै आधारमा संसद पुनः स्थापित भएको उनले स्मरण गराए।
पुनः स्थापित संसदको पहिलो बैठकले गरेको ऐतिहासिक घोषणाले नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ दिशा दिएको थापाको भनाइ छ।
'त्यो घोषणा केवल औपचारिक थिएन, त्यसले लोकतन्त्रलाई समावेशी बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्यो,' उनले भने, 'समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक चरित्रलाई राज्य संरचनामा प्रतिबिम्बित गर्ने लक्ष्य त्यस घोषणाको मूल आत्मा थियो।'
थापाका अनुसार सोही घोषणाको निरन्तरताका रूपमा अन्तरिम संविधान निर्माण भयो र अन्तरिम संविधान हुँदै वर्तमान संविधानसम्म आइपुग्दा समेटिएका सबै प्रगतिशील विषयहरूको जरो पुनः स्थापित संसदको पहिलो घोषणासँग जोडिएको छ।
आजको सन्दर्भमा पनि पार्टीगत सीमाभन्दा माथि उठेर सोच्न सक्ने नागरिक नेता, अगुवा र सचेत व्यक्तिहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उनले बताए।
'पुरानो पुस्ताका अनुभवी नागरिक अगुवासँगै नयाँ पुस्ताका ऊर्जाशील र सचेत युवाहरू पनि यस प्रक्रियामा सहभागी हुनुपर्छ,' थापाले जोड दिए।
राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई मात्रै सबैथोक बनाउनु नहुने उनको भनाइ छ।
'सबै पार्टीमा जाने, चुनाव लड्ने वा नलड्ने आ–आफ्ना पाटा हुन्। हामी लड्छौं, जित्छौं, हार्छौं। तर पार्टीभन्दा बाहिर रहेर साझा राष्ट्रिय एजेन्डामा केन्द्रित भएर सोच्ने र काम गर्ने स्पेस पनि आवश्यक छ,' उनले भने।
थापाले सेप्टेम्बर ८ र ९ मा सार्वजनिक रूपमा व्यक्त गरिएका सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डा केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
फरक फरक राजनीतिक दललाई एउटै ठाउँमा ल्याई राउन्ड टेबल संवाद गराउने तथा नयाँ–पुराना सबै धारलाई समेटेर राष्ट्रिय संवाद सुरू गर्नु आजको आवश्यकता भएको उनले बताए।
'२०४२/४३ को आन्दोलनअघि जसरी चुनावअघि न्यूनतम समझदारी बनाइएको थियो, आज पनि त्यसैगरी साझा समझदारी बनाऔं,' थापाले भने, 'चुनावपछि संसद बन्छ, सरकार चल्छ। तर संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारजस्ता ठूला विषयमा दल र नागरिक शक्तिबीच सहमति हुनैपर्छ।'
सोही उद्देश्यका साथ आफूले भिडिओ र विचारमार्फत जेनजी मुभमेन्टमा संलग्नहरूलाई संवादको आह्वान गरेको थापाले बताए।
'तपाईंहरूसँग भएका विचार, सुझाव र अनुभव लिएर सानो तहबाट छलफल सुरू गरौं। आवश्यक परे यसलाई ठूलो राष्ट्रिय संवादसम्म लैजाऔं,' उनले आग्रह गरे।
अन्त्यमा थापाले सबैलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।