तुइनबाट महाकाली नदी पार गर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।
भारतीय सुरक्षा बल एसएसबीले गत शुक्रबार बिहान तुइनको डोरी काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विवरण आइरहेका छन्। एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै प्रहरीमा निवेदनसमेत परेको छ।
यसबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली बनाएको र छानबिन टोली आज धनगढी पुगिसकेको गृहमन्त्री खाणले बताए।
सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन १० दिनको समय दिइएको उनको भनाइ छ। दार्चुला हुँदै घटनास्थल मालघाट पुग्न यातायातको समस्या परेमा गृह मन्त्रालयले हेलिकप्टरको व्यवस्थापन गर्ने पनि खाणले बताए।
गृहमन्त्री खाणले आज राष्ट्रिय सभा बैठकमा समसामयिक विषयबारे बोल्न समय लिएका थिए।
उनले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटे वा नकाटेबारे केही उल्लेख गरेका थिएनन्। यो विषय छानबिनकै क्रममा रहेको उनको भनाइ थियो।
‘मालघाटमा तुइन तर्ने क्रममा ज्यादै दु:खद, गम्भीर र संवेदनशील घटना भएको छ,’ उनले भने। गत साउन १५ गते बिहान तुइन तर्ने क्रममा ३३ वर्षीय धामी महाकालीमा खसेर बेपत्ता भएका थिए।
सोही दिन घटनास्थलमा ३ जना प्रहरी पठाइएको खाणले बताए। यस्तै घटनाबारे भारतस्थित धार्चुलाका अधिकारीलाई पत्राचारसमेत गरिएको उनको भनाइ छ।
धामीभन्दा अगाडि र पछि तुइन तर्न बसेकाहरूलाई पनि घटनाबारे सोधपुछ भइरहेको गृहमन्त्री खाणले बताए। ‘घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको छ। सत्यतथ्य ल्याउने संकल्प गर्दछौं,’ उनले भने।