नेकपा (एकीकृत समाजवादी) पक्षीय युवासंघले ललिता निवास प्रकरणको छानबिन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेको छ।
युवा संघ अध्यक्ष नरेश शाहीले दायर गरेको मुद्दामा गैरकानुनी रूपले जग्गा हडप्ने कुमार रेग्मी र नवीन पौडेललाई उन्मुक्ति नदिन माग गरिएको छ।
ललिता निवासमा पर्ने सरकारी जग्गा गैरकानुनी रूपमा हडपेको आरोप लागेका कुमार रेग्मी र नवीन पौडेलले जग्गा फिर्ता गर्ने र उनीहरूलाई मुद्दा नचलाउने भनी अख्तियारले निर्णय गरेको थियो।
व्यक्ति विशेषलाई उन्मुक्ति दिन नहुने मागसहित आफूहरू अख्तियार गएको युवा संघका प्रवक्ता सञ्जीब राईले सेतोपाटीलाई बताए।
'यति महत्वपूर्ण कुरामा बालुवाटार, ललिता निवासभित्र पर्ने सरकारी जग्गा हिनामिना गर्ने व्यक्ति कुमार रेग्मी र नविन पौडेललाई गैरकानुनी रूपमा जग्गा फिर्ताको बाहना बनाएर उन्मुक्ति दिने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयलाई युवा संघ नेपालले गम्भीर रूपमा लिएको छ', युवासंघले भनेको छ,'र यो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निष्पक्ष, न्यायिक निष्कर्ष र निर्णय नभएको तथा यसमा गम्भीर तोडमोड भएको देखिन्छ। यसले स्वयं अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महत्व, गरिमा र अस्तित्वमैं प्रश्नचिन्ह लगाउँछ, यस्तो निर्णयले दीर्घकालमा भ्रष्टहरूलाई प्रोत्साहित गर्छ।'