संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि बोलाइने सभापति पवित्रा निरौलाले जानकारी दिएकी छन्।
उनले आजको बैठकमा पनि प्रधामन्त्रीलाई बोलाएको स्पष्ट पार्दै अन्तिम समयमा उहाँ नआएको बताइन्।
‘मैले प्रधानमन्त्रीजीको पिएसँग कुरा गरेर समय पनि मिलाएको थिएँ। तर अन्तिम समयमा बैठक बस्नु २ घन्टा अगाडि मात्र उहाँले नआउने खबर पठाउनु भयो’, उनले भनिन्, ‘उहाँलाई फेरि बोलाऔं, मलाई नआएकोमा दुःख लागेको छ।’
सभापति निरौलाले प्रधानमन्त्री समय मिलाउनकै लागि आजको बैठक १० बजे रखिएको समेत स्पष्ट पारिन्।
‘मैले प्रधानमन्त्रीको पिएसँग कुरा गरेको हो ,उहाँले सचिवालयमा पत्र पठाउनुस् भन्नुभयो। पठायौं। हाम्रो ९ बजे बस्ने बैठक उहाँलाई भनेरै १० बजे सारियो, पुष्पा भुसालसँग पनि कुरा भयो, मलाई प्रधानमन्त्री आउनेमा १०० प्रतिशत विश्वास थियो। तर आज अचानक ८ बजे समिति सचिवलाई नआउने भनेर फोन आएछ। नआउन मिल्छ तर समयमा भन्नुपर्छ’, उनले भनिन्।
राज्यको महत्वपूर्ण व्यक्ति भएकाले महत्वपूर्ण विषयको छलफलमा उहाँ उपस्थित भएर जवाफ दिनुपर्ने उनले बताइन्।
‘प्रधानमन्त्रीज्यूलाई आमन्त्रण पनि गर्यौँ राष्ट्रियताका सवालमा उठेका चिन्ताका विषयमा उहाँको जवाफ माग्न। उहाँ आउनुभएन’, उनले भनिन्, ‘प्रधानमन्त्रीले सदनमै जवाफ दिइदिएको भए हुन्थ्याे। त्यहाँ पनि उहाँले प्रस्ट नपारिदिएकाले सम्बन्धित समितिमा जिम्मेवारीभित्र परेको विषय भएकाले आमन्त्रण गरेका हौँ। उहाँको जवाफको आशा गरेका थियौँ।’
‘यथार्थ कुरा सम्बन्धित व्यक्तिबाट आओस् भन्नका लागि प्रधानमन्त्रीलाई बैठकमा डाकिएको उनले स्पष्ट पारिन्। ‘उहाँलाई बैठकमा बोलाएर बाहिर आएको विभिन्न हल्ला र भ्रमका बारेमा उहाँकै मुखबाट आधिकारिक ठाउँबाट आधिकारिक धारणा आओस् भन्नका लागि बोलाएका हौ’, उनले भनिन्, ‘सबै सवालको बारेमा आधिकारिक ठाउँबाट जवाफ आओस् भन्ने मात्र हो। उहाँको बदनाम गर्न बोलाउन लागेको होइन।’
प्रधानमन्त्रीको अपमान गर्न बैठकमा आमन्त्रण नगरेको सभापति निरौलाले स्पष्ट पारिन्।
‘उहाँलाई हामीले अपमान गर्ने, उहाँलाई स्पष्टीकरण लिने, उहाँलाई बदनाम गर्ने, तुच्छ वचन बोल्ने त्यो होइन । हामी सम्मान गर्छौं, हिजो पनि हामीले प्रधानमन्त्री जुनसुकै पार्टीकाे सम्मान गरेका थियौं, आज पनि गर्छौं, भोलि पनि गर्छौं,’ उनले भनिन्।
बैठकमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताएका थिए।
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको प्रतिक्रिया दिए।
‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भए तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, उनले भने,‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन।’
यसअघि पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद भीम रावलले प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन भएको प्रतिक्रिया दिएका थिए।
‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन हो,’ उनले समितिको बैठकमा आज भने, ‘संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेपछि संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हो। यसमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’
यस्तै नेकपा एमालेका अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने जिकिर गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताएका हुन्।
‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उनले भने,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले भन्नुपर्छ। सायद उहाँले भ्रमण तय भएपछि भन्नुहोला तर एसपिपीबारे त भन्नुपर्थ्यो।’