सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले बुढीगण्डकीको प्रस्ताव लगेको र पारित गरेको एक मन्त्रीले बताए।
‘पब्लिक कम्पनी बनाएर लैजाने निर्णय भएको छ। अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने।
यसअघि ऊर्जा मन्त्रालयले बुढीगण्डकी कम्पनी मोडलमा बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।
लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि भएको थियो।
यसअघि बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवाले बनाउने भनिएको थियो। बुढीगण्डकी बनाउने पुँजी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा छुट्टै कर लगाउँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, १८:३१:००