नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिसँग सल्लाह गरेर शनिबारसम्म विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्ने बताएका छन्।
'सभापति (शेरबहादुर देउवा) सँग सल्लाह गरेर कार्यवाहक सभापति (पूर्णबहादुर खड्का) ले आज र भोलिभित्र विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्छ,' शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले भने।
उनले कांग्रेस विधानको दफा १७ (२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई कसरी सम्बोधन गर्ने भन्ने अहिलेको मुख्य प्रश्न भएको उल्लेख गरे।
'नियमित महाधिवेशन भएको भए त्यसले विशेषको माग सम्बोधन गर्न सक्थ्यो। नियमित महाधिवेशन तत्काल नहुनुको अर्थ विशेष महाधिवेशनको ढोका खुल्नु हो, जुन अब खुल्यो,' उनले भने, 'त्यसमा हामी एक भएर प्रवेश गरौं।'
संसद विघटनलाई संविधान विपरीत भन्ने कांग्रेसले आफू पार्टीको विधान विपरीत चल्नु विरोधाभाषपूर्ण भएको उल्लेख गर्दै यस्तो कार्य आफूहरूलाई स्वीकार्य नहुने उनले बताए।
उनले विशेष महाधिवेशनका लागि दुइटा विकल्प पनि बैठकमा सुझाएका छन् —
पहिलो, सहमतिपूर्वक विशेष महाधिवेशन बोलाउने।
यसअनुसार पुस २६ गते बिहान ९ बजे महाधिवेशन उद्घाटन गरेर दिउँसो बन्दसत्र र साँझ उम्मेदवारी दर्ता गर्न सकिने उनको भनाइ छ। त्यसको भोलिपल्ट पुस २७ गते भोटिङ मेसिनबाट निर्वाचन गरी साँझसम्म परिणाम सार्वजनिक गर्न सकिने उनले उल्लेख गरे।
दोस्रो विकल्प, असहमतिबीच महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गर्ने।
'यसलाई कुन रूपमा लग्ने भनेर हामी संयमपूर्वक निधो गर्नेछौं,' उनले भने।
बैठकले पास गरेको नियमित महाधिवेशनको नयाँ कार्यतालिकाबारे आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने, 'यसमा असहमति राख्न जरूरी छैन, तर मूल प्रश्न विशेष महाधिवेशनको प्रस्ताव हो। पुस मसान्तमा विशेष गरौं, अनि वैशाख मसान्तमा नियमित, यो नै सही हुन्छ।'
'५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन,' उनले भने।
महामन्त्री शर्माले संसद पुनर्स्थापना निम्ति भएको हस्ताक्षर र आगामी चुनावमा नेकपा एमालेसँग गठबन्धन गर्ने चर्चामाथि पनि बैठकमा प्रश्न उठाएका थिए।
फागुन २१ को निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरिसकेपछि संसद पुनर्स्थापनाका पक्षमा निवर्तमान संसदहरूलाई हस्ताक्षर गर्न किन भनियो भनेर प्रश्न गर्दै उनले भने, 'यो कसले गरायो, किन हुन दिइयो?'
एमालेसँगको गठबन्धन चर्चाबारे उनले अगाडि भने, 'आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो। तर एमालेसँग गठबन्धन गर्ने 'भूमिगत तयारी' कसले गर्दैछ? यसमा हाम्रो बिल्कुलै असहमति छ। यस्तो गर्न मिल्दैन।'
उनले महासमितिको निर्णय विपरीत चुनावी गठबन्धनको निर्णय लिनु आत्मघाती हुने बताए।
समानुपातिक सूची टुंगो लगाउने क्रममा पनि गम्भीर गल्ती भएको महामन्त्री शर्माको भनाइ छ।
'समानुपातिक सूची बनाइरहँदा मतदाताको रूचि को-कस्ता उपर हुनसक्छ भनेर हामी छलफल गर्दै थियौं। मध्यरात एकाएक ६०/४० का लागि टेलिफोन आयो। यो गम्भीर गल्ती थियो,' उनले भने, 'सूची सच्याउन जरूरी छ। अग्रज नेताहरू स्पष्ट हुनुस्, अवसर अरूलाई दिइनुपर्छ।'
कार्यसमिति बैठकमा महामन्त्री शर्माले पार्टी फुट्ने हल्लाबारे पनि टिप्पणी गरे।
उनले भने, 'हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौं, म दृढतापुर्वक भन्छु- हामी नेतृत्व गर्नेछौं। कांग्रेस छाडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नू। हामी पर्खिन्छौं पनि फर्किन्छौं पनि!'