घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने सहमति भएको छ।
विप्लव निकटको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस प्रशासन दाङबीच चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन रोकेर ८ गते गर्ने सहमति भएको हो।
यसअघि मंगलबार अखिल (क्रान्तिकारी)ले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ अनाधिकृत रुपमा परिचयपत्र बनाइएको दाबीका साथ क्याम्पसको मुल गेटमा ताला बन्दी गरेको थियो।
अनाधिकृत रूपमा परिचयपत्र बनाउने कार्यमा क्याम्पस प्रशासनको समेत मिलेमतो रहेको आरोपसहित विरोधमा अखिल (क्रान्तिकारी)ले क्याम्पसमा तालाबन्दी गरेको थियो।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच शुक्रबार भएको छलफल पछि चैत ५ गतेको निर्वाचन रोकेर ८ गते गर्ने सहमति भएको हो।
अखिल क्रान्तिकारीले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि अनाधिकृत रूपमा बनाइका फर्जी परिचयपत्रहरू उपर छानविन हुनुपर्ने माग गरे अनुसार क्याम्पस प्रशासन निर्वाचनको मिति सार्न सहमत भएको हो।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १३:०४:०८