राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएर निस्केकी सुमना श्रेष्ठले पार्टीका नयाँ र पुराना सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्न नहुने बताएकी छन्।
विघटित प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसदसमेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल 'एक्स' मा रास्वपाका पछिल्ला राजनीतिक एकताबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
'राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी रहँदैन,' उनी लेख्छिन्, 'नयाँ रास्वपामा नयाँ-पुराना साथीहरूले अहिले उठाउनुभएका प्रश्नहरू अहिलेको नेतृत्ववले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौं।'
'सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्,' उनले भनेकी छन्।
सुमनाले बालेन र कुलमानसँगको एकतापछि बनेको नयाँ रास्वपालाई शुभकामना पनि दिएकी छन्।
उनी लेख्छिन्, 'नयाँ रास्वपालाई शुभकामना छ। जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ। बधाई छ।'
उनी अगाडि लेख्छिन्, 'म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिइनँ। रास्वपा छाडेको पनि त्यहाँ अवसर नपाएर होइन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपाली मात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेन्डा छैन मेरो।'
आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा समाचार र धारणा नबनाउन पनि उनले आग्रह गरेकी छन्।
'म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनतामाझ थिएँ र अनवरत छु। दल, चिह्न, पद, भूमिका सबै अस्थायी हुन्। जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। मप्रतिको चासो र चिन्ताका लागि धन्यवाद! केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईंहरूले मप्रति देखाउनुभएको माया भन्ने बुझेकी छु,' उनले लेखेकी छन्।
सुमनाले आफ्नो राजनीतिक भविष्यको चिन्ता नगर्न आग्रह गर्दै लेखेकी छन्, 'देश र तपाईंलाई भरोसा लाग्ने पार्टीभित्रको लोकतान्त्रिक मूल्य-मान्यता जोगाउने चिन्ता लिनुहोला। त्योबिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ।'
आखिरीमा उनी लेख्छिन्, 'नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावारण मिलोस्। शुभकामना। बधाई भन्न पाइयोस्l'