आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्ति रहेको बताएका छन्।
शुक्रबार उनी नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको र प्रचण्डकै कार्यकालमा ती चुनौतीहरूको समाधान हुने र विकास निर्माणका कामहरूले गति लिने विश्वास व्यक्त गरे ।
‘अहिले मुलुकमा पैसाको हाहाकार छ।किसान मारमा छन्। प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ।जनताले धितो राखेर पनि बैंकबाट पैसा पाईराखेको छैन। पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो,’ अध्यक्ष साहले भने,‘प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा यी समस्याहरूको समाधान हुन्छ भन्ने आशा राखौँ।’
अध्यक्ष साहले क्रान्तिकारीहरू एकतावद्ध भए मात्रै जनताको आवश्यकता अनुसार काम गर्न सकिने बताए। सोही अनुसार आफूहरूले कम्युनिस्टहरूबीच एकता सुरु गरिएको उनले बताए।कृषि पेसालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पार्टी एकता गरिएको अध्यक्ष साहले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, १४:३५:००