गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्नेलाई राजनीतिक संरक्षण नहुने बताएका छन्।
अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्ने जुनसुकै दलका भए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए।
‘अस्पताल तोडफोड गर्ने, डाक्टरलाई हातपात गर्नेलाई क्षम्य हुँदैन,’ उनले भने, ‘चाहे जुनसुकै दलका होस्, कारबाही हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीले गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। गण्डकीमा लमजुङ जिल्ला अस्पताल र मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात भएको थियो।
डाक्टरलाई हातपात गर्नेहरू नाजायज फाइदा उठाउन खोजेको भन्दै हतोत्साही नहुन पनि उनले स्वास्थ्यकर्मीलाई अपिल गरे।
‘डाक्टरमाथि हातपातका छिटपुट घटनाले नेपालमा बस्नै सकिँदैन भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ, यस्ता कुराबाट हतोत्साही नहुनुस्,’ उनले भने, ‘अस्पताल र स्वास्थ्यकर्मीलाई सरकारले सुरक्षा दिन्छ, कसैलाई छाड्दैन।’
बिरामी निको होस् भन्ने चाहना सबैभन्दा धेरै डाक्टर एवं स्वास्थ्यकर्मीलाई हुने उनले बताए। अरू व्यक्तिमा भन्दा डाक्टरमा धेरै मानवीय भावना हुने भन्दै उनले उपचार गर्दागर्दै बिरामीको निधन हुनु डाक्टरको कमजोरी नहुने बताए।
‘हामीमा भन्दा धेरै मानवीय भावना डाक्टरसँग हुन्छ, आफ्नो बिरामी मरोस् भनेर कसैले सोच्दैनन्,’ उनले भने, ‘डाक्टरले सबै बिरामी जोगाउन सक्ने भए डाक्टरको कहिल्यै पनि मृत्यु हुने थिएन। किनकी, सबैभन्दा धेरै आँफै बाच्न मन लाग्छ नि।’
अर्को प्रसंगमा गण्डकी प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्न ३ अर्ब रुपैयाँ लाग्ने भन्दै उक्त बजेट सरकारसँग नरहेको बताए। प्रदेशसँग कर असुली गर्ने क्षेत्राधिकार कम भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले बताए।