नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी छन्।
उनले देशमा प्रधानमन्त्री बालेन शाह छन् कि अरू कोही भन्ने कुरासमेत आम नागरिकले बुझ्न नसक्ने अवस्था आएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले देशमा सुशासन होइन, छाडातन्त्र हावी हुन थालेको आरोप लगाएकी हुन्।
‘लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ,’ उनले भनेकी छन्, ‘तर सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ।’
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको भन्दै उनले सरकारसँग जवाफ मागेकी छन्।
‘अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,’ उनले लेखेकी छन्, ‘कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?’
संग्रौलाले इनम सापकोटा प्रकरणलाई सत्ताको दुरुपयोगसँग जोड्दै यस विषयमा सरकार र सत्तारूढ दलले जवाफ दिनुपर्ने बताएकी छन्।