नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले असाधारण संकटमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव गरेका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले सबै कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए।
पार्टीका सहसंयोजक माधव नेपालले केपी ओलीको नाम लिँदा आशंका व्यक्त गरेको उल्लेख गर्दै आफूलाई भने त्यस्तो नलागेको उनले बताए।
उनले केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै बाँकी कम्युनिस्ट समूह एकजुट हुनुपर्ने आजको वस्तुगत आवश्यकता भएको स्पष्ट पारे।
‘म अपिल गर्न चाहन्छु, माधवजीले केपी ओलीको नाम लिँदाखेरी अलिकति के पो हुने हो भन्नुभयो। मलाई चाहिँ त्यस्तो लागेको छैन। केपी ओली समेत, मोहनविक्रमजीसमेत, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै बाँकी कम्युनिस्ट समूहलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता,’ उनले भने।
देशभक्त र लोकतन्त्रवादीहरूको एकता अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै उनले विगतमा विभिन्न रूपमा सहकार्य, एकता र अनेकौँ उतारचढाव भोगेका शक्तिहरू एक हुनुपर्ने बताए।
अहिले देश असाधारण संकटमा रहेकाले सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो पार्नुपर्ने उनको भनाइ छ।
सबै खाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्र र देशलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनु आजको मुख्य आवश्यकता रहेको उनले औँल्याए।