नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएका पार्टी दीगो नहुने बताएका छन्।
सोमबार कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महतले भने, ‘यो हामीले बुझिराखौं- भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैन। केही गर्नका लागि धैर्यता, समर्पण र इमान्दारिता चाहिन्छ, त्यो कांग्रेसमा मात्र छ।’
उनले कांग्रेस बिचलित हुनुपर्ने अवस्था नरहेको बताए।
‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– कांग्रेस। आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ,’ महतले भने।
पार्टीकै प्रतिनिधि सत्तामा पुगेको, इमान्दारिताका साथ काम गरिराखेको, परिणाम पनि ल्याइराखेको बताएका उनले त्यसलाई अपनत्व लिनुको सट्टा प्रश्न मात्र गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम भएको दुखेसो गरेका थिए।
पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको उनले बताए।
‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो। रानीपौवादेखि उताको खण्ड टुंगियो। ठेक्का प्रक्रियामा जान्छ, यताको एसियन बैंकले नै गर्छ,’ उनले भने।
अर्थमन्त्रीसमेत रहेका महतले एनसेल सेयर खरिद-बिक्रीबारे अध्ययन र छानबिन गर्न सरकारले समिति बनाएको बताए।
'कर छलेको रहेछ भने हामी छोड्दैनौं। तर किनबेच अर्थ मन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ,' महतले भने।