इसराइलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्।
अक्टोबर २७ मा भएको निर्वाचनमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपति हर्जोगले सबैभन्दा बढी सांसदको समर्थन पाएका आइसेनकोटलाई सरकार गठनको पहिलो अवसर दिएका हुन्।
६६ वर्षीय आइसेनकोट पूर्वसैनिक प्रमुख हुन्।
उनले नेतन्याहूलाई प्रधानमन्त्रीबाट हटाउने उद्देश्यसहित निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। राष्ट्रपतिको निर्णयसँगै नेतन्याहूको लामो राजनीतिक वर्चस्व अन्त्य गर्ने प्रयासमा आइसेनकोटले पहिलो अवसर पाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
तर, उनले सरकार गठन गर्न आवश्यक बहुमत जुटाउनुपर्ने चुनौती भने कायमै छ।
रोयटर्सका अनुसार राष्ट्रपति हर्जोगले शनिबार आइसेनकोटलाई सरकार गठनका लागि छनोट गरेका हुन्। उनलाई आइतबार औपचारिक रूपमा जिम्मेवारी दिइनेछ। त्यसपछि उनले सरकार गठनका लागि २८ दिन पाउनेछन्। आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्नेछन्।
अक्टोबर २७ को निर्वाचनमा नेतन्याहू नेतृत्वको लिकुड पार्टी १२० सदस्यीय संसद् (नेसेट) मा २७ सिटसहित सबैभन्दा ठूलो एकल दल बनेको थियो। तर, उनी नेतृत्वको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले जम्मा ५३ सिट मात्रै जित्यो।
सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ।
आइसेनकोट नेतृत्वको याशार पार्टीले २१ सिट जितेको थियो। उनीसँग गठबन्धनमा रहेका चार दलले कुल ४८ सिट पाएका छन्। त्यस्तै, इसराइलका अरब समुदायको प्रतिनिधित्व गर्ने दुई दलले ऐतिहासिक रूपमा १९ सिट जितेका छन्।
सरकार गठनका लागि राष्ट्रपतिसमक्ष भएको परामर्शमा आइसेनकोटलाई ६७ सांसदले समर्थन जनाएका थिए।
नेतन्याहूलाई भने ४६ सांसदले मात्रै समर्थन गरेका थिए।
नेतन्याहूको लामो समयदेखिको सहयोगी युनाइटेड टोरा जुडिजमले समेत उनलाई समर्थन गर्न अस्वीकार गरेको थियो।
तर, संसदमा ६७ सांसदको समर्थन पाउनु र सरकार गठन गर्न सक्नु फरक विषय हुन्।
आइसेनकोटले अरब दलको समर्थन पाए पनि उनीहरूलाई सरकारमा सहभागी गराउन अस्वीकार गर्दै आएका छन्। त्यसैले सरकार गठनका लागि उनले राजनीतिक दलहरूबीच सहमति जुटाउनुपर्नेछ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइसेनकोटले यहुदी, लोकतान्त्रिक, उदार र समानतामूलक राज्यको मान्यता स्वीकार गर्ने, स्वतन्त्रताको घोषणापत्रका मूल्यप्रति प्रतिबद्ध रहने, सबै नागरिकलाई सैनिक वा अन्य कुनै राष्ट्रिय सेवामा सहभागी गराउने र हमासलाई आतंकवादी संगठनका रूपमा स्वीकार गर्ने सर्त अघि सारेका छन्।
यी सर्तका कारण अरब दललाई सरकारमा सहभागी गराउने सम्भावना सीमित भएको छ।
तर, उनीहरूले सरकारमा सहभागी नभई बाहिरबाट समर्थन गर्न सक्ने विकल्प भने खुला छ।
आइसेनकोटका लागि अर्को चुनौती विपक्षी गठबन्धनभित्रै देखिएको छ।
गठबन्धनका नेता एभिग्डोर लिबरम्यानले अरब दलको समर्थनमा बन्ने अल्पमतको सरकारलाई साथ नदिने बताउँदै आएका छन्।
उनले यस्तो सरकार लामो समय टिक्न नसक्ने र त्यसले अन्ततः नेतन्याहूलाई नै पुनः शक्तिमा फर्काउने तर्क गरेका छन्।
लिबरम्यानले यसको विकल्पमा अतिवादी अर्थोडक्स यहुदी समुदायको प्रतिनिधित्व गर्ने शास र युनाइटेड टोरा जुडिजम दलसँग मिलेर ६१ सांसदको समर्थन जुटाउन प्रस्ताव गरेका छन्।
तर, ती दलको एजेन्डा यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने कानुन बनाउने भन्ने छ। आइसेनकोट र उनका सहयोगीहरूले भने सबै नागरिकका लागि अनिवार्य सेवा लागू गर्ने प्रतिबद्धता जनाएका छन्। यसले उनीहरूबीच सहमति जुटाउन कठिन बनाएको छ।
अर्को विकल्प नेतन्याहूसँग राष्ट्रिय एकता सरकार गठन गर्नु हो।
तर, आइसेनकोटले नेतन्याहूसँग एउटै सरकारमा सहभागी नहुने बताउँदै आएका छन्। उनले नेतन्याहूको नेतृत्वमा गजामा भएको सैन्य अभियानको व्यवस्थापन र सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन्।
नेतन्याहूले भने सबै यहुदीवादी दल सहभागी हुने राष्ट्रिय एकता सरकार बनाउन आह्वान गरेका छन्।
शनिबार भिडिओ सन्देश जारी गर्दै उनले अरब दलको समर्थनमा अल्पमतको सरकार बने इसराइलको अस्तित्व नै संकटमा पर्ने दाबी गरेका थिए।
आइसेनकोटको पार्टीले नेतन्याहूको प्रस्तावलाई अस्वीकार गर्दै लिकुड पार्टीले अतिवादी दलसँगको गठबन्धन तोडेर आइसेनकोटको नेतृत्वमा सरकारमा सहभागी हुन सक्ने जबाफ दिएको छ।
नेतन्याहूले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन्।
तर, इसराइलको केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशकले निर्वाचनको विश्वसनीयतामा योजनाबद्ध रूपमा हस्तक्षेप भएको भन्ने दाबीको कुनै आधार नभएको बताएका छन्।
आइसेनकोटले सकेसम्म छिटो राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने बताएका छन्।
उनले अल्पमतमा रहेको कामचलाउ सरकारले सुरक्षा निकाय र कानुन कार्यान्वयन गर्ने संस्थाको नेतृत्व गरिरहनु खतरनाक भएको टिप्पणी गरेका छन्।
सन् २०२२ मा मात्रै राजनीतिमा प्रवेश गरेका आइसेनकोटले सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको आक्रमणपछि नेतन्याहूको युद्धकालीन मन्त्रिपरिषदमा केही समय काम गरेका थिए।
त्यसपछि उनी विपक्षमा फर्किएका थिए। गजामा इसराइली सैन्य कारबाहीका क्रममा उनका एक छोरा र दुई भतिजाको मृत्यु भएको थियो।
इसराइली सेनाका पूर्वप्रमुखसमेत रहेका आइसेनकोटले निर्वाचनका क्रममा आफ्नो सुरक्षा अनुभवलाई प्रमुखताका साथ प्रस्तुत गरेका थिए। उनले प्यालेस्टिनी क्षेत्रमा इसराइली बस्ती विस्तार गर्ने यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाको पनि आलोचना गर्दै आएका छन्। नेतन्याहू गठबन्धनका अतिवादी नेता इतामार बेन गभिर र बेजलेल स्मोट्रिचसँग पनि उनको मतभेद छ।
आइसेनकोटले सरकार गठन गर्न नसके राष्ट्रपतिले अर्को उम्मेदवारलाई अवसर दिन सक्नेछन्। त्यसमा नेतन्याहूले पनि पुनः प्रयास गर्न पाउनेछन्।
वैकल्पिक सरकार गठनका प्रयाससमेत असफल भए संसद् विघटन गरेर अर्को निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्छ।