गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार र सांसदहरूका कारण आवश्यक कानुन नबनेको बताएका छन्।
मंगलबार पोखरामा भएको कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले साँच्चै संघीयता लागू गर्ने पक्षमा पार्टी छ कि छैन भन्ने प्रश्न पनि गरेका छन्।
‘यो संघीयता संविधानमा लेखेका कारणले मात्र हामीले मानिरहेका छौं कि साँच्चै हामी संघीयतालाई लागू गर्ने पक्षमा छौं?,’ उनले प्रश्न गरे, ‘यदि हाम्रो पार्टी संघीयतालाई कार्यान्वयन गर्न दृढतापूर्वक उभिन्छ भने कानुन बनाउन कांग्रेस अग्रसर हुनुपर्छ।’
उनले संघीय सरकार र सांसदहरूले निजामती, प्रहरी र शिक्षासम्बन्धी कानुन नबनाएको बताए।
‘संघीय सरकार र सांसदहरूको नालायकीका कारण कानुन बनेको छैन,’ उनले भने, ‘कानुन नबन्ने अनि सडकमा प्रदेश सरकारले गाली खानुपर्ने? अव यो अवस्थाको अन्त्य हुनुपर्छ।’
उनले पुस १३ गते प्रदेशका मुख्यमन्त्रीहरूको बैठक गर्न लागेको बताए। ‘यदि कानुन बनाउन नसक्ने हो भने प्रधानमन्त्री र दलका नेतृत्वहरूले प्रष्टताका साथ भन्नुपर्यो संघीयता खारेज गर्छौं भनेर,’ उनले भने, ‘कानुन नभएका कारण हामीले काम गर्न नपाएको कुरा महसुस गर्नुपर्यो।’