नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकार बनाउनु अहिलेको बाध्यता रहेको बताएका छन्।
कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका महतले कुनै पनि दलसँग एकल बहुमत नरहेकोले गठबन्धन गरी सरकार बनाउनुपरेको बताए।
‘कतिपय साथीहरुलाई गठबन्धन किन गर्नुपर्यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन,’ प्रवक्ता महतले भने।
उनले मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन देखिएको बताए।
‘कांग्रेसबाट सरकारमा सहभागी हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन्। देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकै पटक हुँदैन। तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं,’ अर्थमन्त्रीसमेत रहेका महतले भने।
उनले आमनिर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभिएमा बहुमत आउने पनि बताएका थिए। एकताभाव, सद्भाव, सहकार्य र समर्पणमा कमी आउन दिन नहुने उनले बताए।
‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेबित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ। कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ,’ उनले भने।