नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर भरसक बहुमतकै पार्टी बनाउनुपर्ने बताएका छन्।
उनले कांग्रेसलाई सुदृढीकरण गर्दै लैजानुपर्ने बताए।
कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलन मंगलबार पोखरामा उद्घाटन गर्दै सभापति देउवाले भने, ‘जसरी भए पनि पार्टीलाई एक गराएर, आपसमा मेलमिलाप र एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतकै पार्टी बनाऔं। नभए पनि सबैभन्दा ठूलो पार्टी बनाउनका लागि हामी अहिलेदेखि नै लागौं, मलाई विश्वास छ भोलिका दिनमा हामी सफल हुनेछौं।’
उनले जिल्ला र प्रदेश अधिवेशनले पार्टीमा उत्साह थपेको र आकर्षण थपेको बताए।
‘कांग्रेसको स्थिति के हुन्छ, कस्तो हुन्छ भनेर स्वदेश र विदेशमा पनि चिन्ता भइरहेका छन्,’ उनले भने, ‘पार्टीका सिद्धान्त र आदर्शमा हामी सम्झौता गर्न सक्दैनौं, अझै सुदृढीकरण गरेर लैजानुपर्छ।’
फरक प्रसंगमा उनले एकल बहुमत कसैको पनि नभएकोले मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए। पार्टीभित्र रहेको घात तथा अन्तर्घातलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाइ थियो।