प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्र्याकमा पर्ने चार वटा रूख काट्न सरकारबाट अनुमति नपाएको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रधान सेनापति शर्माले चार वटा रूख काट्न नौ महिनाअघि प्रस्ताव गरे पनि सरकारबाट अहिलेसम्म अनुमति नपाइएको गुनासो गरेका हुन्।
फास्ट ट्र्याक पर्ने चार वटा रूख काट्ने अनुमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिएको उनको भनाइ छ। रूख कटानको अनुमति नहुँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको उनले बताए।
‘चार वटा रूख काट्न नौ महिनाअघि गरेको प्रस्तावमा निर्णय भएको छैन। प्रधानमन्त्रीलाई ती ४ रूख देखाएँ तर अहिलेसम्म काट्न अनुमति पाएको छैन,’ प्रधान सेनापति शर्माले भने।
यस्तै तालले २०८३ सम्म पनि फास्ट ट्र्याक निर्माण सम्पन्न नहुने प्रधान सेनापति शर्माको भनाइ छ।
सेना आफैंले फास्ट ट्र्याक नमागेको र त्यसलाई बनाउने जिम्मा दिएपछि नियम पनि फास्ट ट्र्याकमै दिनुपर्ने उनको भनाइ थियो। फास्ट ट्र्याक निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै समिति सदस्यहरूले प्रश्न उठाएपछि प्रधान सेनापति शर्मा जवाफ दिन पुगेका थिए।