नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको हो।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ।
पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी गरिएको थियो।
तर, समय अभावलाई कारण देखाएर बैठक स्थगित गरिएको थियो।
आज बस्ने बैठकले विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने छ। सचिव पौडेलका अनुसार विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक माघभित्र गर्ने गरी प्रस्ताव गरिएको छ।