प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले इतिहासकै रेकर्डयुक्त काम आफू नेतृत्व सरकारबाट भएको दाबी गरेका छन्।
बिहीबार प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका क्षेत्रमा आफूले ऐतिहासिक रेकर्डयुक्त कामहरू गरेको दाबी गरेका हुन्।
‘मैले जति र जसरी सोचेको छु, त्यसरी नै सफल भइयो भन्ने मेरो पनि दाबी छैन,’ विराटनगर विमानस्थलमा साँझ पत्रकारसँग प्रधानमन्त्रीले भने ‘किनभने गठबन्धन सरकारका धेरै सीमाहरू हुन्छन्, अफ्ठ्यारा हुन्छन्। सबैलाई मिलाएर लैजाने जिम्मेवारी कुरा हो। तर, यो अवस्थामा जे-जति काम खासगरी भ्रष्टाचारविरूद्ध, सुशासन र समृद्धिका पक्षमा जे जति कामहरू भएका छन्, यसले मूलतः सफल भएँ भन्ने दाबी छ।’
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको उपलब्धिबारे इतिहासमा कयौं रेकर्डहरू रहेको बताएका छन्।
‘अहिले केही मिडिया, तपाईंहरू पनि कुरै नबुझी लेख्नुहुन्छ कि क्या हो मलाई थाहा छैन,' उनले भने, 'तर, सुरूदेखिको प्रत्येक घटना हेर्नुभयो यो अफ्ठ्यारो अवस्थामा पनि सामाजिक न्यायको विषयमा कयौं ऐतिहासिक रेकर्डहरू बनेका छन्। मिटर ब्याज, नागरिकता समस्या जस्ता कुरा जटिल थिए नि!’
भ्रष्टाचारविरूद्ध पनि यो सरकारले इतिहासमै ठूलो कारवाही गरेको प्रधानमन्त्रीको दाबी छ।
‘सुशासनका पक्षमा इतिहासमा यो लेभलको कारवाही प्रक्रिया कहिल्यै चलेको थियो? लेभल हुन्छ नि यसको पनि,' उनले भने, 'भूमाफियाविरूद्ध पनि कारवाही भयो। अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले सफल भयौं। सफल मात्रै होइन, ऐतिहासिक रूपले सफल छ भन्न सकिन्छ।’
प्रधानमन्त्रीले सरकार अब आक्रामक ढंगले काममा लागिपर्ने बताएका छन्।
‘अब अलि अफेन्सिभ तरिकाले जाने भन्ने सोचिरहेको छु। खासगरी विकास निर्माण र जनातलाई सेवा दिने सवालमा मैले प्लान सोचेको छु,' उनले भने, 'मन्त्रीहरूलाई पनि टार्गेट दिने हो। त्यो फूलफिल भएन भने कडै रूपले गइन्छ।’
एनसेल प्रकरणबारे आफूले तथ्यहरूसहित संसदीय समितिमा धेरै कुरा प्रष्ट पारेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाले उक्त विषय धेरै नकोट्याउन आग्रह गरे। यस्तै, वातावरण असहज बनाउने काम नगर्न आग्रह गरे।
संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले दिएको पछिल्लो धार्मिक अभिव्यक्तिलाई आफूले गम्भीर रूपमा लिएको प्रधानमन्त्रीको भनाइ छ।
‘मैले यो विषयलाई गम्भीर रूपमा लिएको छु,' उनले भने, 'एकचोटी मन्त्रीसँग कुरा गरेपछि कसरी जाने अन्तिम निर्णय हुन्छ। जसरी बाहिर आइरहेको छ, त्यो गम्भीर नै छ।’
प्रधानमन्त्री दाहाल मोरङमा हुने पार्टीको कार्यक्रम र मोरङ व्यापार संघको भोलिदेखि सुरू हुने एक्स्पो उद्घाटनका लागि विराटनगर आएका हुन्।