नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाटो बिराइरहेको सरकारलाई सुधार्न कांग्रेसले दबाब दिनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अहिलेको सरकार गठन भएको एक वर्ष पुग्दा पनि गति लिन नसकेको उनले बताए।
‘सरकारले युवाका पक्षमा काम गर्न सकेन। युवाहरूमा निराशा बढ्दो छ,’ नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आइतबार आयोजना गरेको कार्यक्रममा महरले भने, ‘युवाहरू दिनहुँ विदेशिएका छन्। सरकारले युवाहरूको समस्या बुझेर समाधान गर्नुपर्छ।’
उनले सत्तारूढ गठबन्धनमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बताए।
फरक प्रसंगमा उनले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत् शासन गर्ने भन्ने कुरा गर्नु आपत्तिजनक रहेको बताए। जनताको म्यान्डेटबाट चुनिएर संसदमा गएका नेता र मन्त्रीबाट अध्याधेशबाट शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।
'सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो। वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ। यो स्वीकार्य हुँदैन,' उनले भने।
कानुन मन्त्रीसमेत रहेका उपसभापति धनराज गुरूङले बागमती र गण्डकी सम्मेलनमा विधेयक पारित गर्न संसद चल्ने अवस्था नरहे अध्यादेशको बाटो रहेको बताएकोमा महरले विरोध गरेका छन्।