प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्।
आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’
कतिपय नीति नियमहरू पर्यटकमैत्री नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गर्ने नीति ल्याउन पनि निर्देशन दिएका छन्।
‘पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
छलफलमा खानेपानी मन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायत सहभागी थिए।