नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रलाई नै सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको विमर्श सभामा बोल्दै देउवाले अहिलेकै व्यवस्थाको सुदृढीकरण गर्दै जानुपर्ने बताए।
‘अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन्। गणतन्त्रलाई कमजोर गर्ने कुरा भइरहेका छन्,’ सभापति देउवाले भने, ‘ती सब कुरामा ध्यान दिएर एक भएर लाग्नुपर्छ, इतिहास फर्किन गाह्रो छ। गणतन्त्रात्मक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्नु अहिलेको मुख्य बाटो हो। यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ।’
देउवाले बोलेलगत्तै केही कार्यकर्ताले 'शेरबहादुर दाइ जीन्दावाद' भन्ने नारा लगाएका थिए। सभापति देउवाले मञ्चबाटै 'प्लिज भयो, भयो' भनेका थिए।