राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।
सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
उनकाअनुसार १० दिनभित्र अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।
रास्वपाले शनिबार पोखरामा आयोजना गरेको सभामा सभापति लामिछानेले बोल्दै गर्दा रानाभाटले खोया प्रहार गरेका थिए। खोया प्रहार भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रानाभाटले भने लामिछानेलाई लक्षित गरेर खोया प्रहार गरेको अस्वीकार गरेका छन्। प्रहरीले लिएको प्रारम्भिक बयानमा उनले आफू लड्दा उछिट्टिएर खोया स्टेजमा पुगेको बताएका छन्।
रानाभाट लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ भाटगाउँका हुन्। वडाध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार सन्तोषका बाबु भारत गएर बेपत्ता छन् भने उनकी आमाले अर्को विवाह गरेर गएकी थिइन्।
खोया प्रहार भएपछि सभापति लामिछानेले रानाभाटलाई केही नगरी घर पुर्याइदिन स्टेजबाटै प्रहरीलाई आग्रह गरेका थिए। प्रहरीले भने परिचाालित वा योजनाबद्ध आक्रमण हो वा होइन भनेर बुझ्न हिरासतमा लिएर अनुसन्धान गरेको जनाएको छ।