जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक मंगलबार बस्दैछ।
बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको प्रचार प्रसार तथा प्रकाश विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न बैठक बस्न लागेको उनले बताए।
यस्तै आउँदो पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए।
आजको बैठकमा पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने बस्नेतको भनाइ छ।
केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको थियो।