नेपाल विद्यार्थी संघ संस्थापनइतर समूहले भेला बोलाएको छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह निकट केन्द्रीय सदस्यहरूको भेला बोलाइएको हो।
बुधबार बिहान ११:३० बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला हुने नेविसंघ नेता भुवन भट्टले बताए।
‘भेलामा दुई सय २० जना नेविसंघ केन्द्रीय सदस्यलाई बोलाइएको छ,’ उनले भने, ‘नेविसंघको १२ औं महाधिवेशन सुनिश्चिततालगायत विषयमा छलफल गर्छौं।’
कांग्रेसले सात सय १० सदस्यीय नेविसंघ तदर्थ समिति गठन गरेर महाधिवेशन गर्न भने पनि त्यसतर्फ कुनै तयारी नभएपछि संस्थापनइतर समूहले भेला बोलाएको छ।
नेविसंघले गरेका अवैधानिक निर्णयहरू खारेज गर्न पनि उक्त समूहले माग गर्दै आएको छ। नेविसंघको केन्द्रीय समिति ठूलो बनाए पनि असन्तुष्टि बाँकी नै छ।
नेविसंघका विभिन्न जिल्ला, क्याम्पसलगायत समितिमा बिबाद देखिएका छन्। जिल्ला अध्यक्ष तोक्दै चिठ्ठी दिने क्रम चल्दै आएको छ।
‘विधानविपरीत कामहरू भएका छन्, हाम्रो समूह टुलुटुलु हेरेर बस्दैन,’ भट्टले भने, ‘विश्वविद्यालयमा पनि राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्नेलगायत मुद्दा छन्। भेलाबाट आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेका छौं।'