लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संविधानले दिएको संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको बताएका छन्।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा मंगलबार बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमै जटिलता उत्पन्न भएको बताएका हुन्। यसकारण जनतामा पनि निराशा उत्पन्न भएको मुख्यमन्त्री चौधरीको गुनासो थियो।
मुख्यमन्त्री चौधरीले संविधानले दिएको संघीयता खत्तम नहुने तर संघीयता कार्यान्वयनको लागि सबै तहलाई पूर्ण अधिकार दिनुपर्ने बताए।
‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन,’ मुख्यमन्त्री चौधरीले भने।
मुख्यमन्त्री चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समेत संघियताको पूर्ण कार्यान्वयनको लागि प्रदेशका अधिकार प्रदेशलाई नै दिन आग्रह गरेको बताए। जग्गा प्राप्तीका व्यवधानका कारण विकास आयोजनाहरूमा धेरै समस्या हुने गरेको मुख्यमन्त्री चौधरीले गुनासो गरे।
‘विकास आयोजनाहरू अगाडी बढायो जग्गाप्राप्तिमै व्यवधान भोग्नुपर्छ, जग्गा व्यवस्थापनको जिम्मेवारी प्रदेशमा छ तर त्यहाँका रूखहरू संघ मातहत छन्, आइइई र इआईएको चपेटामा धेरै योजनाहरू अलपत्र छन्,’ मुख्यमन्त्री चौधरीले भने।
मुख्यमन्त्री चौधरीले सरकारी ऐन नियमहरू विकासका बाधक हुन नहुने बताए।
लुम्बिनी प्रदेश सरकारले उद्योग स्थापना हुने र पर्यटक पुग्ने ठाउँलाई सडक संजालले जोड्ने निति बनाएको बताउँदै मुख्यमन्त्री चौाधरीले उद्योग व्यवसायमा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे।
‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाबाट गाउँ र सहरलाई जोड्न सकिन्छ, गाउँ र सहरलाई जोड्न सके मुलुकको विकास हुन्छ,’ मुख्यमन्त्री चौधरीले भने।
उनले विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतहरूलाई सम्बन्धित देशमा नेपालको उत्पादनलाई प्रोत्साहन गर्न सघाउन आग्रह गरे।
मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशभित्रका जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको भन्दै मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए।