प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिले जस्तो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र? भनेर प्रश्न गरेका छन्।
मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निराशावादीहरूलाई लक्षित गर्दै उक्त प्रश्न गरेका हुन्।
‘म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिले थियो र?,’ उनले सोधे, ‘बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ। के यो लोकतन्त्रको उपलब्धि होइन र?’
उनले भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको पनि बताए।
‘हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासको ठूलो र दुर्लभ दूरगामी महत्वको सहमति हो। भारतसँग मात्रै नभएर बंगलादेशसँग पनि विद्युत व्यापारको एकदम नजिक पुगेका छौं,’ उनले भने, ‘नेपालबाट बंगलादेशमा ४० मेगावाट सम्मको विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ।’
यस्तै, आफ्नो कार्यकालमा नेपाल-चीन जोड्ने गरी केरूङ प्रसारण लाइन अगाडि बढाउने सहमति भएको पनि उनले बताए।
‘मेरो चीन भ्रमणको क्रममा नेपाल-चीन जोड्ने चिलिमे केरूङ प्रसारण लाइन अगाडि बढाउने सहमति भएको छ। यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि हाम्रो विद्युत व्यापारको ढोका खुल्नेछ,’ उनले भने, ‘देशभित्र पनि उद्योग र चुलोदेखि यातायातसम्म विद्युत खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौं। गम्भीर भएर सोचौं त देशले हरेक वर्ष कम्तीमा रू ५ खर्बको बिजुली निर्यात गर्नु र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र?’
सम्बन्धित समाचार:
कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँदैछौंः प्रधानमन्त्री
देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन: प्रधानमन्त्री प्रचण्ड
चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदैछः प्रधानमन्त्री
बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न त्रिदेशीय सम्झौता हुँदैछ– प्रधानमन्त्री प्रचण्ड