प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एनसेलको ८० प्रतिशत शेयर बिक्रीको जानकारी पाएलगत्तै संवेदनशील भएर छानबिन अगाडि बढाएको बताएका छन्।
मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सेयर बिक्री भएको जानकारी पाएलगत्तै समिति बनाइएको बताए।
उनले यसबारे सरकार संवेदनशील भएको पनि बताए।
‘एनसेलको सेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत् राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘समितिले छानबिन तथा अध्ययनको काम अघि बढाइरहेको कुरा यहाँहरूलाई अवगत नै छ।’
मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको थियो। सेयर खरिद गरेको भन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद भएको हो।
'लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण निरन्तर जारी रहनेछ'
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा सुशासन कायम गरी लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण निरन्तर जारी राख्ने बताएका छन्।
उनले आफूले सुशासन गर्दै सर्भिसिङ र शुद्धीकरण जारी राख्ने बताएका हुन्।
उनले आफू प्रधानमन्त्री भएपछि सुरूमा सुशासन कायम गर्ने संकल्प गरेको पनि बताए।
देशमा भिआइपी कल्चर स्थापित भइरहँदा हाइप्रोफाइल व्यक्तिहरूलाई कानुनको दायरामा ल्याएको पनि उनले बताए।
‘देशमा भिआइपी कल्चर स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेको थियो,’ उनले भने, ‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको अवैध तस्करी लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेकै छ। कहिल्यै कानुनले नछुने ठानेका उच्च पदस्थ कानुनको नियन्त्रणमा आए।’
यसरी उच्च पदस्थका व्यक्तिहरू नै नियन्त्रणमा आएपछि देश विधिको शासनले चलेको भन्ने मान्यता स्थापित भएको पनि उनले बताए।
देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कुनै लापरबाही गरेन। यसबाट कानुनको सर्वोच्चता मात्र होइन लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ। त्यसैले मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण भनेको छु। यो क्रम निरन्तर जारी रहनेछ,’ उनले भने।
'मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताएका छन्।
उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कार्यतालिका बनाएर काम भइरहेको बताएका हुन्।
‘मेलम्चीको पानी काठमाडौंवासीले उपयोग गर्ने सपना अधुरो रहेको हामी सबैले बुझेका छौं, मैले मेलम्चीको समस्याको बारे सबैसँग छलफल पनि गरेँ। मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजना लिएर अहिले हामी काम गरिरहेका छौं,’ उनले भने।
मेलम्चीको दोस्रो चरणको आयोजना यांग्री र लार्केबारे पनि संवाद जारी रहेको प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने।
‘यतिमात्र होइन खानेपानीको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ,’ उनले जोड दिए।
'संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले उपकुलपतिमा दाबी गर्न सक्छन्, राजनीतिक भागबन्डा हुन्न'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने बताएका छन्।
प्रचण्डले भने, ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपिल गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन।’
उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने उल्लेख गरेका छन्।
‘अब मेरिटोक्रेसी सुरु हुनेछ र त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ। नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने, युवा जनशक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिँदैछ,’ उनले भने।
'नेपाल विश्वकपमा पुगेसँगै देशमा खेल पर्यटनको आधार तयार भएको छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले भने– ‘सुविधासम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन। यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ। त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं।’
कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिंदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए।
‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टिमलाई सम्मानसहित पुरस्कृत पनि गरेको छ’– उनले भने– ‘ दक्षिण एशियाली र एशियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्ने २ सय ५२ खेलाडीलाई मासिक भत्ता पनि उपलब्ध गराएको छ। यी प्रोत्साहनसँगै सरकारको ध्यान पूर्वाधार–निर्माणमै केन्द्रित छ। ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल–पर्यटनको ठूलो सम्भावना हासल गर्न सरकारले कुनै कसर छाड्ने छैन।’
'चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदैछ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन्।
उनले ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको बताएका हुन्।
‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजन र चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेकोको देखिरहेको छु। ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ। एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले सम्बोधनका क्रममा भने।
उनले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गरेका हुन्।
'देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।
दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’
बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए।
‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति कार्यक्रम र बजेट, विकासमा रहेका समस्या समाधान गर्न लाग्ने पक्षमा छु,’ उनले भने।
'कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँदैछौं'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्।
उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए।
‘विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब हाम्रो ध्यान विप्रेषण सँगै भित्रने सीप, दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ,’ उनले मंगलबार सम्बोधनका क्रममा भने, ‘म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु।कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी पनि हामी गर्दैछौं।’
प्रधानमन्त्रीले सरकारका नीतिले मात्र होइन, खर्चले अर्थतन्त्रलाई गतिशील बनाउने बताए। त्यसका लागि पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिइरहेको बताए।