प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारले बनाउनुपर्ने कानुनहरू छिटो बनाउने संकेत गरेका छन्।
राष्ट्रका नाममा मंगलबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीहरूलाई संघीयताका गाँठा फुकाउने विश्वास दिलाए।
‘पछिल्लो समय प्रदेशका मुख्यमन्त्रीहरूको असन्तुष्टि मैले सुनेको छु र बुझेको पनि छु,’ उनले भने, ‘म यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु- संघीयताका गाँठा निकै छिटो फुकाइँदैछन्।’
राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक आफूले नै डाकेको उनले बताए। संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन हटाइने पनि उनले बताए।
संघीय निजामती, संघीय शिक्षा र संघीय प्रहरी कानुन बनाउन ढिलाइ भएको भन्दै मुख्यमन्त्रीहरूले पटक-पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।